भारत सरकारको सहयोगमा इरानबाट ११ नेपाली फर्किदै, पाँच जेलमा : परराष्ट्रमन्त्री

Jasus Khabar 3925+ समाचार ( )
९ आषाढ २०८२

 परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकारको सहयोगमा इरानबाट ११ नेपाली स्वदेश फर्किन लागेको जानकारी गराएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले इरानमा १६ नेपाली रहेकोमा ११ जना भारत सरकारको सहयोगमा फर्किन लागेको जानकारी गराएकी हुन्। उनले पाँचजना जेलमा रहेको र उनीहरूको पनि उद्दारका लागि पहल भइरहेको बताइन्।

'इरानमा १६ नेपाली रहनुभएको छ। ११ जना मसाद भन्ने स्थानमा पुग्नु भएको छ,'उनले भनिन्,'उहाँहरू भोलिसम्म भारत पुग्नुहुन्छ।'मन्त्री राणाले भारत सरकारले आफ्ना नागरिकलाई उद्दार गर्ने क्रममा नेपालीलाई पनि उद्दार गरिदिन आग्रह गरेपछि उनीहरू फर्किन लागेका हुन्।

मन्त्री राणाका अनुसार ११ जनामध्ये एकजनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरू भएको छ। मन्त्री राणाले नेपाल सरकारले जरायल र इरानबीचको उत्पन्न तनाव र त्यसको संभावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिएको बताइन्। 

मन्त्री राणाले सम्बन्धित मुलुकमा रहेका दूतावासहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको जानकारी दिइन्। उनका अनुसार  १७ जुनमा अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरू गरिएको छ। उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गरेका छन् भने दर्ता गर्ने क्रम पनि जारी छ।

यसैगरी हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायत काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको मन्त्री राणाको भनाइ छ।

प्रतिक्रिया