मोहम्मद अफताब हासमी> राैतहट। रौतहटको ऐतिहासिक यमुनामाई गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी बहाल भएको लामो समय बितिसक्दा पनि जनताले अपेक्षा गरेको विकास निर्माण, पारदर्शिता, जवाफदेहिता र सुशासनको अनुभूति नपाएको भन्दै स्थानीय जनप्रतिनिधीहरूले गम्भीर आपत्ति जनाएका छन्।>
गाउँपालिका अध्यक्ष, कार्यालय प्रमुख र लेखाप्रमुख मिलेर गुटबन्दी गर्दै भ्रष्टाचारलाई संस्थागत गरेको, प्रमुख प्रशासकीय अधिकृतलाई बारम्बार हेरफेर गरेर व्यक्तिगत फाइदा लिने, अनियमित टेन्डर प्रक्रिया सञ्चालन गर्ने, विद्यालय खाजाभत्ता र इन्धन खर्चमा कमिशन खाने, सार्वजनिक सवारी साधन निजी प्रयोजनमा प्रयोग गर्ने जस्ता आरोप जनप्रतिनिधीहरूले सार्वजनिक गरेका छन्।>
>
जनप्रतिनिधीहरूको अनुसार, कानुन विपरीत कर्मचारी भर्ना, बिना कार्यादेशका काम, गाउँसभा निर्णयको अवहेलना, बजेटको लापरबाहीपूर्ण सञ्चालन र सार्वजनिक सम्पत्तिको दुरुपयोगले सर्वसाधारण, अन्नदाता किसान, वृद्धवृद्धा, बालबालिका सबै पीडामा परेका छन्।>
>
यसका विरुद्ध जनप्रतिनिधीहरूले १३ बुँदे माग राख्दै यमुनामाई गाउँपालिका कार्यालय सरुअठा, जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला समन्वय समिति कार्यालय गौरमा तत्काल सुधारका लागि ज्ञापनपत्र दिएका छन्। ती मागहरूमा अघिल्ला तीन आर्थिक वर्षका गाउँसभा निर्णय, कार्यपालिका बैठक माइनुट, बजेट कागजात, बैंक स्टेटमेन्ट र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने, स्थायी र अस्थायी सबै कर्मचारीको नियुक्ति विवरण दिने, अनलाइन टेन्डर र बैठक प्रणाली लागू गर्ने, सबै विद्यालयमा अंग्रेजी माध्यम शिक्षा सुरु गर्ने, सम्पूर्ण नागरिकको स्वास्थ्य बीमा गर्ने, कृषि विद्युतीकरण र निःशुल्क घरवाति विद्युत सुविधा दिने, गाउँपालिका स्तरीय अस्पताल स्थापना गर्ने लगायतका मागहरू छन्।>
>
त्यसैगरी, अवैध तरिकाले सम्पन्न भएको ९औं गाउँसभा खारेज गर्ने, स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा कानुनअनुसार पारदर्शी बनाउने, टीएडी र आर्थिक सहयोग पाउनेको नाम सार्वजनिक गर्ने माग पनि गरिएको छ।>
>
मागपत्रमा चेतावनी दिँदै भनिएको छ — “हाम्रो जायज माग सम्बोधन नगरेमा आन्दोलनमा उत्रन बाध्य हुनेछौं र त्यस क्रममा हुने कुनै घटना, दुर्घटना वा जनधनको क्षतिको जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लिनुपर्छ।”>
>
यो मागपत्र सार्वजनिक भएपछि यमुनामाई गाउँपालिकाको राजनीतिक माहोलमा थप तनाब चुलिन सक्ने देखिएको छ।>
>