उत्तर कोरियासँग अनपेक्षित नतिजाको खोजीमा नेपाल

Jasus Khabar 3925+ समाचार ( )
२५ श्रावण २०८२

 एएफसी यू-२० एसियन कप छनोट खेलका लागि भुटानमा रहेको नेपालले आज समूहको अन्तिम खेलमा बलियो उत्तर कोरियाको सामना गर्दैछ।

यो खेलमा नेपाल विश्व विजेता टोलीलाई हराउनै पर्ने बाध्यात्मक अवस्थामा मैदान उत्रिँदै छ। खेल भुटानको चामलिमिथाङ रंगशालामा दिउँसो १:४५ बजे सुरु हुनेछ।

दुई साताअघि बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई समग्र दुई खेलमा फराकिलो नतिजाले उच्च मनोबलका साथ थिम्पु पुगेको नेपाली टोलीको यात्रा पहिलो खेलमै निरासाजनक रह्यो।

कमजोर मानिएको भुटानले अप्रत्यासित रुपमा नेपाललाई रोक्यो। चामलिमिथाङ रंगशालामा पहिलो खेलमै घरेलु टोली भुटानसँग १-१ को बराबरीनै नेपालको एसियाकप पुग्ने तगारो बन्यो। किनकी नेपालले अर्को खेलमा साउदीसँग १-० को संघर्षपूर्ण जित निकाल्यो।

जसका कारण अब नेपालसँग दुई खेलबाट ४ अंक बनायो तर नेपालको उत्कृष्ट उपविजेता बनेर अघि बढ्ने बाटो बन्द भइसकेको छ। अब नेपाली टोलीसँग एउटै मात्र विकल्प भनेको कउत्तर कोरियालाई मात्र हराने हो।

त्यसोत उत्तर कोरिया यो समूहको बलियो टोली हो। यू-२० उमेर समूहमा एसियन कप र विश्वकपको उपाधि जितिसकेको यो टोली छनोट प्रतियोगितामा पनि निकै शक्तिशाली देखिएको छ। पहिलो खेलमा साउदी अरबलाई १५-० र दोस्रो खेलमा भुटानलाई १०-० ले हराएर २५ गोल गरिसकेको उत्तर कोरियाले अहिलेसम्म एक गोल पनि खाएको छैन।

समूहमा ६ अंकसहित शीर्ष स्थानमा रहेको उत्तर कोरियालाई रोक्नु नेपालका लागि फलामको चिउरा चपाउनु सरह हुने छ। आजको खेलले सन् २००४ को एएफसी यू-१९ महिला एसियन च्याम्पियनसिपको इतिहास पनि सम्झाएको छ। त्यतिबेला नेपाल र उत्तर कोरिया एउटै समूहमा थिए, जसमा नेपाल १९-० को फराकिलो अन्तरले पराजित भएको थियो।

यस्तो छ छनोट समीकरण
उत्तर कोरियासँग खेल्नुअघि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ भने उत्तर कोरिया ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाललाई एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनु बाहेकको विकल्प छैन्।

बराबरीमा रोकिएमा वा पराजित भएमा नेपालको यात्रा यहीँ टुङ्गिनेछ। बराबरी गरे पनि नेपालको अंक ५ मात्र हुनेछ, जुन उत्कृष्ट उपविजेता बन्न पर्याप्त हुने छैन। त्यसैले, जित नै नेपालका लागि एक मात्र विकल्प बनेको छ।

उत्तर कोरियाको अपराजित यात्रालाई रोक्न सके मात्रै नेपाली टोलीको एसियन कपको सपना कायम रहने छ। अन्यथा, नेपाली टोलीको यात्रा थिम्पुमै टुंगिने छ।

प्रतिक्रिया