अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल-खावा सडकखण्डको स्तरोन्नति अलपत्र हुँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नुपरेको छ। चार वर्षसम्म सडक नबनेर निर्माणले गति नलिँदा ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले बताएको छ। >
निर्माण सम्झौता रद्द भए पनि स्रोत सुनिश्चित भएको यो सडकखण्डको स्तरोन्नतिका लागि नयाँ ठेकेदारमार्फत काम थाल्न केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ। >
यो सडकखण्डको स्तरोन्नति तोकिएको समयमा पूरा नभएपछि ठेक्का रद्द भएसँगै सम्बद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका छन्। धुलिखेलदेखि खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनामा बनाइसक्ने गरी २० करोड १९ लाख ४६ हजारको ठेक्का लिएको थियो।>
ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दा समयसीमा सकिएको ११ महिनासम्म पनि २५ प्रतिशत काम भएको थिएन। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते ‘गौरी-पार्वती निर्माण सेवा’सँगको ठेक्का रद्द गरेको थियो। >
ठेक्का रद्द भएपछि अदालत गएका व्यवसायीको मुद्दामा अदालतले ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी जफतलगायत कारबाही नगर्न र सडकलाई हालको अवस्थामा राख्न’ अन्तरिम आदेश जारी गरेपछि निर्माण अवरुद्ध भएको छ। >
स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा केही महिना लाग्ने भएकाले सवारी र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको सडक डिभिजन कार्यालयले बताएको छ। >
कार्यालय प्रमुख सिडिई सुमन योगेशले केही दिनमा नयाँ ‘स्टिमेट’ तयार गरी ठेक्का प्रक्रिया अघि बढाउने बताए। ‘नयाँ ठेक्काका लागि दुईदेखि साढे दुई महिना लाग्छ, भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्ने तयारी छ,’ उनले भने। सडक स्तरोन्नतिका लागि ४२ करोड स्रोत सुनिश्चित भएको कार्यालयले जनाएको छ। >
प्रमुख सुमन योगेशका अनुसार अदालतको आदेशले ठेक्का प्रक्रियामा बाधा पर्दैन। लिखित स्पष्टीकरण माग्दा सन्तोषजनक जवाफ नआएपछि ठेक्का रद्द गर्नुपरेको हो। >
सडक निर्माणअन्तर्गत हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा काट्ने काम भएको छ भने केही स्थानमा नाली र ‘ड्रेन-वाल’ बनाइएको छ। जिपलाइनदेखि खावासम्म सडक भत्काइएको छ तर एक किलोमिटरमा ‘कटिङ’ बाँकी छ। गत जेठमा धुलिखेलतर्फ बेस, सब-बेस हाल्ने काम सुरु भए पनि वर्षाले बगाएर खण्डहरजस्तै बनाएको छ। >
समयमा निर्माण नहुँदा यो राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि सास्ती खेपिरहेका छन्। सडक निर्माण नसकिएकाले भत्काइएको सडकमा सवारी दुर्घटना हुँदा यात्रु घाइते भएका छन्। केही वर्षदेखि जीर्ण यो सडकखण्डलाई १२ मिटर फराकिलो बनाई कालोपत्रे गर्ने योजना थियो। >
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई ध्यानमा राखी बलियो बनाउन कार्यालयले नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दुई चरणको ‘डिबिएम र आस्फाल’ कालोपत्रे गर्ने योजना बनाएको छ। >
अरनिको राजमार्ग हुँदै चीनसँगको तातोपानी नाकासहित दोलखा, रामेछाप पुग्ने यो सडकखण्डको निर्माणलाई उच्च प्राथमिकता दिएको कार्यालय प्रमुख सुमन योगेशले बताए। >>