स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका डाक्टर केशव श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सम्पर्कविहीन भएका छन् ।>
सोमबार बिहान फेसबुक स्टाट पोस्ट गरेलगत्तै उनी सम्पर्कविहीन भएका हुन् । निकटस्थहरूका अनुसार, उनको अन्तिम लोकेसन काठमाडौंको साततले (कपन क्षेत्र)मा देखिएको छ । हालको उनको फोन 'स्वीच अफ' रहेको आफन्तहरूले बताएका छन् । आफन्त र प्रहरी मिलेर उनको खोजी गरिरहेका छन् । >
दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।>
अस्पतालमा काम गर्ने क्रममा आफूविरुद्ध झुटा आरोप लगाइएको, धम्की र दबाब दिइएको उनले उल्लेख गरेका छन् । डा. श्रेष्ठले केही कर्मचारी मिलेर आफूलाई मानसिक रूपमा गलाउने काम गरेको आरोप पनि लगाएका छन् । उनले केही व्यक्तिको नाम नै सार्वजनिक गरेका छन्, जसमा स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य सचिवसम्मको नाम छ । रामेछाप अस्पतालबाट आफूलाई राति ९ बजे परिवारसहित काठमाडौं आउन बाध्य पारिएको र स्वास्थ्य मन्त्रालयले सुरक्षा नदिएको गुनासो उनले गरेका छन् । मन्त्रालय र स्थानीय प्रशासनले पनि आफूलाई न्याय र सुरक्षा नदिएको उनको गुनासो छ । केही वर्षअघि मात्र बिहे गरेका डा. श्रेष्ठका २ वर्षकी छोरी र श्रीमती छन् । >
डा. श्रेष्ठले आफूले न्याय पाए मात्र आत्माले शान्ति पाउने पनि लेखेका छन् । उनले भनेका छन्, ‘असत्यको जित भएको देखेर बस्न मन लागेन । मलाई मार्न बाध्य पार्नेहरूलाई कानुनी कारबाही नहुँदासम्म मेरो आत्माले शान्ति पाउने छैन ।’>
रामेछाप अस्पताललाई १५ बेडको सानो अस्पतालबाट बागमती प्रदेशकै दोस्रो उत्कृष्ट ५० बेड अस्पताल बनाउन सफल डा. श्रेष्ठको यो अवस्थाले सरकारी अस्पतालमा सेवा गर्ने चिकित्सकहरूको जटिल परिस्थिति उजागर गरेको छ ।>
>>>