जनश्रमदानबाट सडक मर्मत

Jasus Khabar 3925+ समाचार ( )
५ अशोज २०८२

 पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । विसं २०५८ मा उक्त मार्ग खोलिएको हो । त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो । 

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् ।

देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले सडक भत्काएको थियो । कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक बगाएको देउपुरका पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए । 

पहिरोले क्षतिग्रस्त सडकमा सवारीसाधन चलाउन सकिने अवस्था थिएन । वडा नं १, २ र ३ का करिब चार सय जनाले श्रमदान गरेका थिए । ‘गाउँलेले झण्डै चार लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्’, उनले भने । 
 
सडक मर्मत भएसँगै चाडवाडको बेला गाउँमा आउनेजाने यात्रुलाई सहज हुने भएको छ । मोदी गाउँपालिका–१, २ र ३ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएको थियो ।  

पहिरो नियन्त्रण गर्न यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत रु ३३ लाखको लगानीमा काम सुरु भएको थियो । तर काम नसकिँदै गत असारमा आएको पहिरोले सडक बगाएको थियो । रासस


प्रतिक्रिया