>
युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानले ३-३ गोलको बराबरी खेलेका छन्।>
बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा घरेलु टोली दुईपटक खेलमा पछि परेको अवस्था उल्टाउँदै मिलानसँग रोमाञ्चक ३-३ गोलको बराबरी खेल्दै दोस्रो लेगका लागि समग्र नतिजा खुला राख्न सफल भयो।>
>
खेल सुरु भएको ३० सेकेन्डमै पाहुना टोलीका लागि मार्कस थोरामले डेनजेल डुम्फ्रिजको लो क्रसलाई आकर्षक ‘ब्याकहिल फ्लिक’ मार्फत सुरुवाती अग्रता दिलाए। जुन च्याम्पियन्स लिगको सेमिफाइनल इतिहासकै सर्वाधिक चाँडो गोल समेत हो।>
२० मिनेटपछि डच डिफेन्डर डुम्फ्रिजले नै उत्कृष्६ भल्लीमार्फत इन्टरको अग्रता दोब्बर बनाउँदा बार्सिलोनाको लागि खेल कठिन देखिएको थियो। खेलमा दबाब राखेपनि दुई गोलले पछि परेपछि बार्सिलोनाले पहलो लेगबाटै फाइनल सम्भावना गुमाउने अनुमान गरियो।>
तर त्यसपछि, अद्भुत प्रदर्शन गर्दै लामिन यामालले खेलको मोड परिवर्तन गरे। उनले २४औं मिनेटमा आफ्नो एकल र उत्कृष्ट प्रयासमा गोल गर्दै खेलमा फर्कने सम्भावना देखाएका थिए। १७ वर्षकै उमेरमा क्लबका लागि १०० खेल पूरा गरेका यामालले गरेका थप दुई प्रहार बारमा लाग्दा सम्भावित जितबाट भने बार्सिलोना विमुख हुनु परेको थियो।>
३८औं मिनेटमा फेर्रान टोरेसले राफिन्हाको पासमा पेड्रीको क्रसफिल्ड बल हेड गरेर दिएको बल नजिकबाट गोल गर्दै पहिलो हाफ रोमाञ्चक रूपमा बराबरीमा बार्सिलोनालाई ल्याए।
तर दोस्रो हाफमा फेरि इन्टरले अग्रता बनायो।>
६३औं मिनेटमा डुम्फ्रिजले हाकान चाल्हानोघ्लुको कर्नरमा हेड गर्दै आफ्नो दोस्रो गोल गर्दा टिमलाई ३-२ ले अघि राखे। तर बार्सिलोनाले तुरुन्तै खेलमा फर्कियो। ६५औं मिनेटमा राफिन्हाको २५ यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर गोलकिपर यान सोमरको ढाडमा ठोक्किएर जाली चुम्न पुग्यो।>
यो अविश्वसनिय र उत्कृष्ट गोलहरु भएको खेलपछि दुवै टोलीको फाइनल सम्भावना कायम छ। दोस्रो लेग मङ्गलबार मिलानको सान सिरोमा हुने छ। जहाँ बाट फाइनल पुग्ने टिमको तय हुने छ।>>>