एउटा हृदयस्पर्शी समवेदना

Jasus Khabar 3925+ समाचार ( )
८ जेठ २०८२

हेर्दा, सुन्दा सामान्य तर, साहसको एउटा अध्यायको अन्त भयो मेरो बस्तीमा ।

शहीद पत्नी काकी जुलेखा खातुन (६६) सांसारिक जीवनबाट विदा भइन् । 

पञ्चायती शोषण र दमनको मारमा जीवनभर नै गरीबी जीवन बिताउन बाध्य जुलेखालाई पतिको निर्मम हत्यापछि कोशी कटानतिर सरकारले केही जग्गा पनि दिएको थियो । तर, हातमुख जोर्न केही वर्ष पनि पुगेन त्यसले । बेचेर खाने बिकल्प थिएन उनीसँग ।


तत्कालिक समयका २०–२१ वर्षका युवा काका जफीर अहमद र मेरो दाजु मोहम्मद युनुस अहमरको क्रान्तिकारी राजनीतिक जीवन त्यस घटनाको मूल कारक बनेको थियो जसले २७–२८ वर्षको एउटा युवा आफ्नी पत्नी, दुई साना–साना छोरा, एक छोरीलाई अलपत्र छोडेर शहादत पाएका थिए । प्रहरीले भन्थ्यो, ‘ए सोबराती तँ त सोझो छ्स्, भन् तँ, जफीर, कासिम, कैला, कटरा सबै मिलेर धरानमा डकैती गरेको हो । तँजस्तो मान्छेलाई जेलमा हाल्दैनौ हामी, बस् यति भन् । तँलाई छाडिदिन्छौँ ।’ १९ दिनसम्म प्रहरी हिरासतमा कठोर यातना खेपे त्यस सोझो मान्छेले । तर, डरको भरमा हरेस खाएनन् । खोलेनन् मुख । झुकेनन् राज्यको दमनको अगाडि । उन्नाइसौँ दिन प्रहरीले छातीमा बुट राखेर दबाउँदै, यातना दिँदै  थियो । हिरासतमा सँगै यातना खेपिरहेका जफिर अहमदले देखे सोबरातीको जिब्रो बाहिर निस्किसकेको थियो, शरीर थर्थराउँदै शिथिल हुँदै गएको थियो । संयोग, दुई हप्तापहिले जफीर काकाले राति ११ बजे विराटनगरको उहाँको निवासमा हामीलाई यो डरलाग्दो पञ्चायती दमनको बारेमा भनिरहनु भएको थियो । सोझो सोबराती जो पटुवा खेतीमा शौचको लागि जाँदा रेडियो बोक्दै जान्थे, गाउँलेहरूले गिज्याउँथ्यो तर अबोध थिए, कुरा कम बुझ्थे । बिहान उडुस मार्ने स्प्रे टैङ्की बोकेर धरान गई गल्ली गल्लीमा घुम्थे । सय पचास कमाएर घर फर्कँदा पकली चौकमा चामल, दाल किन्थे र सानो खरको टहरामा आएर पत्नी र साना– साना छोरा–छोरीसँग गरीबीमै भए पनि रमाएर बसेका थिए । 

२०४३ सालको घटना । अचानक एकाबिहानै प्रहरीको गाडी हथियार समेत आउँछ । बस्तीमा जो जो वयष्क पुरुष भेट्छ तान्दै, घचेट्दै, हप्काउँदै भ्यानमा हुल्छ । सोबराती टहराभित्रै हुन्छ । प्रहरी आङ्गनमा पुग्छ । ढोका ढक् ढक् गरेपछि डोरिया कट्टु र बाहुलासम्मको गञ्जी मात्र लाएका सोबराती को हो, को हो भन्दै बाहिर निस्कन्छ । प्रहरीले उनको पाखुरामा समातेर सडकतिर घचेट्न खोज्छ । बच्चाहरू रुन कराउन थाल्छन्, पत्नी जुलेखाले जे जे भेट्छ त्यसले प्रहरीलाई हिर्काउँदै पतिलाई छुटाउन खोज्छिन् । रुन्छिन्, कराउँछिन्; आफ्नो पतिलाई के दोषमा लान खोजेको भनी कोलाहल मच्चाउँछिन् । टोलमा भागाभाग हुन्छ । सबै पुरुष पटुवा खेतमा गएर लुक्छन् । कतिपय भाग्छन् गाउँ छोडेर । किनकि यो धडपकड ३–४ दिन पहिलेबाटै शुरु थियो । पुरै बस्ती त्रसित थियो । सोबरातीलाई बिना कसूर प्रहरीको जीपमा राखियो । उनी अशब्द, अवाक् भएका थिए । पल्टेर आफूलाई समात्ने प्रहरी जवानको मुखमा मात्र हेरिरहेका थिए । केही भन्न खोजेका थिए । तर, वाक फुटेन । केही बेरमा अरू २–३ जनालाई समातेर गाडीमा पशुझैँ हुलेर जान लाग्दा सोबराती आफ्ना पत्नी र बच्चाहरूलाई अन्तिमपटक नियालिरहेका थिए । कहिले प्रहरी परिसरमा न पुगेका सोबरातीको दुबै हाथमा हथकडी थियो । गाउँको अन्तिम छोरसम्म दौडेकी थिइन् जुलेखा । साथमा बाबा बाबा भन्दै दौडेका थिए छोरा, जिब्रिल, पिण्टु र छोरी ....। कति दुखद थियो त्यो क्षण । बाबा बाबा भनेका लालाबालाले फेरि कहिल्लै बाबालाई हेर्न पाएनन् । निर्दयी पञ्चायती शासकहरूको भेंट चढिसके बिचरा बाबा । 


१९ दिनपछि लाश लिएर राति १२ बजे टोलमा छिर्छ प्रहरी भ्यान, हथियार समेत । सुझबुझ राख्ने मस्जिदका वृद्ध एमाम वली मोहम्मद उर्फ मियाँजीले लाश बुझ्दैनन् । प्रहरीलाई निडर भई जनअधिकारका कुरा गर्छन् । नागरिक सुरक्षाको कुरा गर्छन् । टोलमा पुरुष भनेकै ७० उमेर कटेका ४–५ जनाबाहेक कोही थिएनन् । सबै गाउँ छोडी भागिसकेका थिए । स्मरण छ मलाई पनि १४–१५ वर्षको उमेरको मेरो निर्वासन जीवन । यति आतङ्क थियो बस्तीमा कि हामी किशोरहरूलाई पनि गाउँ छोड्नु परेको थियो । आफन्तले लाश न बुझेपछि इनरुवाको कब्रिस्तानमा लगी प्रहरीले लाश दफनायो । इनरुवा कब्रिस्तानमा एक महिनासम्म हथियारधारी प्रहरी तैनात रह्यो ।


जुलेखाको त्यसपछिको जीवन अत्यन्तै पीडादायक बन्यो । कोही कमाउने थिएन । सामान्य लेखपढ पनि नजानेकी जुलेखासँग कुनै सीप थिएन । बच्चाहरू सानै थिए । पालनपोषण निकै कठिन थियो । छोरा–छोरीलाई पढाउन सक्ने कुनै अवस्था थिएन । 


वर्तमान पूर्व प्रधानन्यायधीश सुशिला कार्की, एमाले नेता तत्कालिक चर्चित अधिवक्ता तथा पत्रकार कमल कोइरालाहरूले पनि चासो लिएको मुद्दा थियो त्यो । कमल कोइराला बस्तीमै पुगेका थिए । राजालाई बिन्ती पत्र चढाउने काम पनि भयो । तर, कसैले केही सुनेनन् । किनकि जफिर अहमद र युनुस अहमरको बहुदलीय प्रजातन्त्र पक्षधरताले गर्दा उब्जिएको यो घटनालाई पञ्चायती मण्डलेले सुन्ने कुनै कारण नै थिएन । कि त यी दुई युवकले आफ्नो विचार बेचेर पञ्चायती झण्डा उठाउनु पथ्र्याे ।


मेरो लागि यो घटना अझ स्मरणीय किन छ भने सोबराती काकाको हत्यापछि यो मुद्दाले राष्ट्रिय मिडियालाई ततायो । प्रजातान्त्रिक पक्षधरहरूले चासो लिन थालेपछि । फफीर अहमद, कासिम मियाँलाई २५–२६ दिनपछि रिहा गर्याे । केहीलाई मुद्दा चलाएर पुर्पक्षमा कारागार पठायो । जफीर अहमद र कासिम मियाँ घर फर्केपछि हामी पनि घर फक्र्याैँ । जफिर अहमद हामी सबैको प्रेरणाका स्रोत थिए । उनकै नेतृत्वमा निरङ्कुश राजतन्त्र र दमनकारी पञ्चायती व्यवस्थाको विरुद्धमा लड्न हामी १० जनाजति पकलीवासी २०४३ सालमा इटहरीको सिनेमा हलको कार्यालयमा नेपाली काँग्रेसको सदस्यता लियौँ । र, राजनीतिमा सक्रिय भयौँ । २०४३ देखि २०४६ सालको आन्दोलनको समयसम्म हामी निकै सक्रिय थियौँ । २०४६ को जनआन्दोलनताका सयौँ कहालीलाग्दा घटनाहरू छातीमा दबाएर बसेका छौँ ।


इन्न लिल्लाहि व इन्न इलैहि राजीऊन । काकी जुलेखाको यो जीवन आज बिहानसम्म पनि सुखमय रहन सकेन । लामो समयदेखि बिरामी पनि हुनुहन्थ्यो । मृत्युपछिको यात्रा सुखमय होस् । जन्नतुल फिर्दाेसमा बसोबास होस् । 


हो, सोबराती काकालाई गिरफ्तार गरेको बखतको त्यो उषाकालीन दृश्य आज पनि मेरो मानसपटलमा ताजा नै छ । जुलेखाले प्रहरीहरूले निडर भई घचेटेका र हिर्काएका दृश्यहरूले आज ३८ वर्षपछि पनि मेरो मथिङ्गललाई हल्लाइरहेको छ । अन्तिम सलाम जुलेखा काकी ! म जनाजामा शामेल हुन सकिन । तर, मेरा हजारौँ हजार दुआले तपाईँलाई मोक्षतर्फ घचेट्ने छ, इन्शाअल्लाह !

(पूर्वमन्त्री तथा संविधान सभा सदस्य माेहम्मद जाकिर हुसैनकाे सामाजिक सञ्जालबाट साभार)

प्रतिक्रिया