सुदन गुरूङको समूहले मध्यराति प्रधानमन्त्री निवासअगाडि गर्‍यो प्रदर्शन

Jasus Khabar 3958+ समाचार ( )
३० भाद्र २०८२

 प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी नाराबाजी गर्दै सुदन गुरुङको समूहले मध्यराति प्रदर्शन गरेको छ। गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा सुशिला कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्। तर आफूहरुसँग सल्लाह नै नगरिकन अन्तरिम सरकारको  मन्त्री छनोट गर्न लागेको भन्दै उनीहरुले हिजो राति विरोध गरेका हुन्।

प्रधानमन्त्री कार्कीले आइतबार ओम प्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार बाहिरिएपछि उनीहरु आक्रोशित भएका हुन्।  

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका परिवारका सदस्यसमेत सहभागी प्रदर्शनमा उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘पीडित परिवारलाई न्याय दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए। उनीहरुले आन्दोलनमा मृत्यु भएका लासको व्यवस्थापन र परिवारको माग सम्बोधन नभएको जनाएका छन्।

केही युवाले गुरुङका गतिविधिप्रति उनकै अगाडि आक्रोश व्यक्त गरे। त्यसपश्चात उनीहरुलाई सान्त्वना दिँदै गुरुङले भने मृतकका आफन्तलाई भने, ‘जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु। पावरफुल नेपाली जनता हो, कसैले हामीलाई रोक्न सक्दैन ।’ 

जेन्जी समूहले ओम प्रकाश अर्याललाई सहजकर्ता बनाएर पठाएपनि आफूहरुसँग सल्लाह नै नगरी आफू मन्त्री बनेको भन्दै असन्तुष्ट जनाएका हुन्। 
गुरुङले भने, ‘ओमप्रकाश अर्याल, लयर.. हैन यसले आफैँ गृहमन्त्री बनाउँदो रहेछन्, भित्र बसेर। म चाहिँ लास व्यवस्थापनमा हिँडिरहेको थिएँ’

अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन्। उनी नयाँ सरकार गठन हुन अगाडि जेनजी समूहको तर्फबाट वार्तामा सहभागी भएका थिए । प्रदर्शनमा जेन्जीको आन्दोलन हाइज्याक भएको भन्दै दिउँसो पनि गुरुङ सहभागी कार्यक्रममा विरोध भएको थियो।

प्रतिक्रिया