>
अजमल अन्सारी>
सुनसरी । नेपाल भारत सीमावर्ती जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। सुनसरी, सप्तरी र भारतको सुपाैल जिल्लाका पदाधिकारीहरुको बीच बुधबार बिहारस्थित बिरपुरको कोैशिकी भवनमा सम्पन्न भएको हो ।>
बैठकमा सुनसरी, सप्तरी र भारतका सुपोैल जिल्लाका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो । बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन, आपराधिक गतिविधि नियन्त्रण तथा आपसी सहकार्य मजबुत बनाउने विषयमा विस्तृत छलफल गरिएको छ।>
>
दुवै देशका जिल्लाका अधिकारीहरुले सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।>
>
सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग गर्ने र सूचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मीलित बैठकको आयोजना गर्ने निर्णय भएको प्रजिअ मिश्रले बताए ।>
>
प्रजिअ मिश्रका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण गर्नेलगायतका विषयमा सहमति भएको बताए ।>
>
बैठकमा सीमा क्षेत्रमा हुने चोरी पैठारी, अवैध ओसारपसार, मानव तस्करी, लागूपदार्थ कारोबार, अवैध आवागमनजस्ता गतिविधि नियन्त्रण गर्न दुवै पक्षले सहकार्यलाई अझ प्रभावकारी बनाउने निर्णय गरेका छन्। सीमावर्ती क्षेत्रमा शान्ति-सुरक्षा कायम राख्न नियमित गस्ती, संयुक्त अनुगमन तथा आपसी सूचना आदानप्रदानलाई सशक्त बनाउने सहमति भएको जनाइएको छ।>
>
बैठकमा दुवै देशका प्रतिनिधिहरूले सीमा क्षेत्रमा रहेका नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सहकार्यलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएका थिए।>
>
बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।>
>
बैठकमा नेपाली सुरक्षा अधिकारीले भारतीय सुरक्षाकर्मीसंग हतियार र लागूऔषधको चुनौती बढेको बताए । “खुल्ला सीमानाका कारण भारतबाट हतियार भित्रिने सुनसरीको प्रमुख समस्यालाई भारतीय समकक्षीसामू राखेको छु, सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले भने,' यसमा उनीहरूले सकारात्मक आश्वासन दिएका छन् ।">
>
सुनसरीका लागि लाूगऔषध ठूलो चुनौती हो । हामीले पहिले पनि समकक्षीलाई भन्ने गरेका थियौं । एसपी तिम्सिनाले थपे,' भारतबाट नेपालमा सुनसरीको बाटो हुंदै आउने धेरै लागूऔषध समातेका छौं ।” नेपालमा लागूऔषध र हतियार प्रवेश रोक्न भारत बिहारको अररिया र सुपोैल जिल्लाका सुरक्षा प्रमुखहरूलाई आग्रह गरेका छाैँ ।">
>
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी निर्मल थापाले भने, "नेपाल-भारत खुला सिमानाका कारण दुबै देशका नागरिकहरूलाई सहज आवागमनको सुविधा रहेको छ। तर यसको दुरुपयोग गर्दै विभिन्न अवैध गतिविधि सञ्चालन हुने सम्भावना रहन्छ। त्यसकारण हामीले दुवै देशबीच नियमित सूचना आदानप्रदान, संयुक्त गस्ती र निगरानीलाई थप सशक्त बनाउने सहमति गरेका छौं। यसले सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउनेछ।">
>
एसपी थापाले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, मानव तस्करी, लागूपदार्थ कारोबारलगायत गतिविधि नियन्त्रण गर्नका लागि स्थानीय प्रशासन, सीमा सुरक्षा बल र सशस्त्र प्रहरी बलबीच अझ बढी सहकार्य आवश्यक रहेको उल्लेख गरे।>
>
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक नियमित रूपमा हुँदै आएको छ । जसले सीमावर्ती क्षेत्रमा आपसी समझदारी र मित्रता सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।>
>
बैठकमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा,सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका प्रमुख तुलसी कट्टेल र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका कमाण्डर , जिल्ला अधिकारी तथा भारतीय प्रहरीका प्रतिनिधि र भन्सार कार्यालयका प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो ।>
>
>
>>