द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाहरूको आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने उद्देश्यले निर्मित वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ। सामुदायिक संस्था सानो पाइला र चलचित्र पत्रकार संघ नेपाल, पर्साको संयुक्त आयोजनामा वीरगंजको आदर्शनगरस्थित क्युएफएक्स सिनेमा हलमा यो प्रदर्शन गरिएको हो।>
सुबिना श्रेष्ठद्वारा निर्देशित ‘देवी’ देवी खड्काको वास्तविक जीवनमा आधारित छ। खड्का माओवादी युद्धमा आमासँगै सहभागी भएकी पूर्व लडाकु, राजनीतिज्ञ र यौन हिंसा पीडित हुन्। वृत्तचित्रले द्वन्द्वपछिको नेपालमा शक्तिशाली निकायहरूले यौन हिंसाका मुद्दाहरूलाई दबाउन खोजिरहेको अवस्थामा देवीले आफ्ना अनुभवहरू सार्वजनिक गर्दै न्यायको लागि गरेको संघर्षलाई प्रस्तुत गर्दछ। प्रदर्शनीपछि वक्ताहरूले देवीको साहसको प्रशंसा गरेका थिए।>
>
>
कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अंसारी, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख हेमा थापा, महिला उद्यमी गुड्डी जोशी, महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदी, वीरगंज जेसीजका अध्यक्ष सरोज चौरसिया लगायतले वृत्तचित्रमाथि आफ्ना विचार राखेका थिए।>
प्रदेशसभा सदस्य अंसारीले राजनीतिक आन्दोलनहरूमा लुकेका लैंगिक हिंसाका कथाहरू बाहिर नआउने गरेको उल्लेख गर्दै ‘देवी’ ले त्यस्ता पीडाहरूलाई उजागर गरेको बताए। महिला अधिकारकर्मी डा. द्विवेदीले वृत्तचित्रले आफैंभित्रको साहस देखाएको र महिला उद्यमी जोशीले मौनता तोड्न ‘देवी’ जस्ता कथाले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरिन्।>
आयोजकहरूले मधेश क्षेत्रमा द्वन्द्वको असर भए पनि यहाँका पीडितहरूको आवाज ओझेलमा परेकोले ‘देवी’ को प्रदर्शनमार्फत यो बहस मधेशसम्म पुर्याउने प्रयास गरिएको बताए। चलचित्र पत्रकार संघ नेपाल, पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले वृत्तचित्रलाई समाजको ऐनाको रूपमा व्याख्या गर्दै ‘देवी’ को साहसिक प्रस्तुति प्रशंसनीय रहेको बताए।>
प्रदर्शनीमा सहभागीहरूले वृत्तचित्रले आफ्नो पीडा, सामाजिक उदासीनता र न्यायको लडाइँलाई स्पष्ट रूपमा देखाएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।>>