संक्रमणकालीन न्याय अघि बढाउँदा दण्डहिनता फैलाउन सक्ने खालका गम्भीर कमजोरी भए : एमनेस्टी

Jasus Khabar 3925+ समाचार ( )
१६ वैशाख २०८२

 एमनेस्टी इन्टरनेसनलले संक्रमणकालीन न्यायलाई अघि बढाउँदा दण्डहिनता फैलाउन सक्ने खालका गम्भीर कमजोरी भएको जनाएको छ । मंगलबार काठमाडौंमा विश्व मानवअधिकारको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले संक्रमणकालीन न्यायलाई अघि बढाउनका लागि महत्वपूर्ण कदम चालिएको भएपनि उक्त कदममा दण्डहिनता फैलाउन सक्ने खालका गम्भीर कमजोरी रहेको जनाएको हो ।

वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी पारित गरिएको विधेयकमा अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखानेगरि अपराधहरूको परिभाषा गरिएको एम्नेस्टीले जनाएको छ ।

त्यस्तै गम्भीर अपराधहरूमा घटी सजायको व्यवस्था र युद्धकालीन अपराधहरूका लागि जिम्मेवार व्यक्तिहरूलाई अभियोजनबाट जोगाउने खालका जवाफदेहितासम्बन्धी गम्भीर कमजोरीहरू रहेको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिए। 

त्यस्तै नागरिकको भेला हुन पाउने अधिकार हनन हुने गरि निषेधित क्षेत्र तोक्ने र प्रदर्शनकारीमाथि पनि प्रतिबन्ध लगाउने काम गर्दै बलपूर्वक तितरवितर पार्ने कामले सरकारले आलोचनालाई दवाउने काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको थपलियाले बताए।

त्यस्तै महिला र बालकालिकाविरुद्धको हिंसा,विभेदजस्ता कार्यले निरन्तरता पाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रतिवेदनमा ‘ट्रम्प प्रभाव’ले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाउँदै गर्दा विश्वव्यापी रूपमा नै मानवअधिकार संकट पैदा हुने एम्नेस्टी इन्टरनेसनलको चेतावनी रहेको छ । 

१५० देशको मानवअधिकार अवस्थामा गरिएको आफ्नो मूल्यांकनका आधारमा सबैका लागि विश्वव्यापी मानवअधिकार स्थापना र प्रवर्द्धनका लागि भएको दशकौंदेखिको मेहनतपूर्ण प्रयासलाई मेटाउने कार्य भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। 

प्रतिक्रिया