>
अजमल अन्सारी>
सुनसरी । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको कार्यकाल एक उदाहरणीय असफलता हो। जसले न त योजनाको आभास दिन सकेको छ, न त कार्यान्वयनको विश्वास। मन्त्री पदमा बसेर "केही नगर्नुको किर्तिमान" राख्ने हो भने मण्डलको नाम निर्विवाद अग्रपंक्तिमा आउँछ।>
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको कार्यकालले जनअपेक्षाको ठीक विपरीत निराशाजनक नतिजा दिएको छ।>
>
प्रदेशको अपार पर्यटन सम्भावना र जटिल वातावरणीय संकटबीच मन्त्रालयको भूमिकालाई सशक्त बनाउने ठाउँमा मण्डलको नेतृत्व निष्क्रिय र दिशाहीन देखिएको छ।>
>
अठोट, योजना र परिणाम तीनै पक्षमा मन्त्री मण्डलको कमजोरी स्पष्ट देखिन्छ। पहाडी र तराई क्षेत्रको जैविक विविधता संरक्षण गर्नुपर्ने बेलामा प्रदेशमा वन अतिक्रमण र अवैध दोहन बढ्दो छ। तर, मन्त्रालय कानमा तेल हालेर बसेको झैं देखिन्छ।>
>
पर्यटन प्रवर्द्धनमा पनि मन्त्रीले केवल औपचारिक समारोह र उद्घाटनका सीमित उपस्थितिहरूमा आफूलाई सीमित राखेका छन् । जुन सतही गतिविधिले दीर्घकालीन विकासमा कुनै योगदान दिन सक्दैन।>
>
पर्यावरणीय संकट समाधानका लागि स्थानीय र वैज्ञानिक दृष्टिकोणको संयोजन आवश्यक पर्थ्यो । तर मन्त्रीको योजनाविहीनता र संवादहीन शैलीले प्रदेशमा दिगो विकासको आशामा धक्का दिएको छ।>
>
प्रदेशका युवालाई रोजगारी दिने पर्यावरण र पर्यटन क्षेत्र अवसरका रूपमा विकास हुन सक्थ्यो। तर मन्त्री मण्डलको असक्षमता र अकर्मण्यताले यो सम्भावना ओझेलमा परेको छ। समग्रमा मन्त्री मण्डलको नेतृत्वले कोशी प्रदेशको वातावरणीय सुरक्षा र पर्यटन विकास दुवै क्षेत्रमा एक खालको ठप्पी ल्याएको छ।>
>
प्रदेशको समृद्ध पर्यटन क्षेत्र आज कागजमा मात्र सिमित रहेको देखिएको छ। प्रदेशका पर्यटकीय गन्तव्यहरू सरकारको ध्यानको पर्खाइमा उजाड बन्दैछन्। मन्त्री मण्डल भने कार्यक्रम तथा समारोहहरुमा फूलमाला लगाएर फोटो खिच्नमै व्यस्त छन्। विकासका कुनै दिगो योजना छैनन्। जनस्तरसँग संवाद छैन र मन्त्रालयको गतिशीलता भने शून्यप्रायः छ।>
>
प्रदेशको समृद्ध पर्यटन क्षेत्र आज कागजमा मात्र बाँकी छ। उदयपुरदेखि ताप्लेजुङसम्मका अद्वितीय पर्यटकीय गन्तव्यहरू सरकारको ध्यानको पर्खाइमा उजाड बन्दैछन्। मन्त्री मण्डल भने उद्घाटन समारोहमा फूलमाला लगाएर फोटो खिच्नमै व्यस्त छन्। >
>
वातावरणको कुरा गर्दा स्थिति झन् भयावह छ। जंगल मासिँदै छन्, खोलानालामा प्रदूषण बढ्दो छ, तर मन्त्रीको बेपरवाही अचल छ। संरक्षणको नाममा कुनै ठोस कदम चालिएको छैन। बरु मन्त्रालय स्वार्थी गिरोहहरूको चौघेरो बन्दै गएको छ जहाँ नीति होइन, पहुँचको राजनीति हाबी भएको देखिन्छ।>
>
स्थानीयस्तरमा संरक्षण र पर्यटन प्रबर्द्धन गर्ने अवसरहरू ओझेलमा परेका छन्। युवाहरू रोजगारीको खोजीमा शहर पलायन भइरहेका छन्। तर मन्त्री मण्डलको नजरमा यो चिन्ताको विषय होइन। किनकि उहाँ आफैँ पदमै टिक्नमै व्यस्त देखिएका छन् । विकास निर्माण तथा काममा होइन।>
>
राजनीतिक नियुक्तिमा केवल दलगत हिसाबले मन्त्री बनाउँदा प्रदेशले के भोग्नुपर्छ भन्ने उदाहरण सदानन्द मण्डल हुन्। उहाँको उपस्थिति न त पर्यटनका लागि प्रेरणा बनेको छ, न त वातावरण संरक्षणका लागि ऊर्जा। बरु उहाँ प्रदेश सरकारको कमजोरीको प्रतिक बनेर बसेका छन्।>
>
कोशी प्रदेशका जनताले यस्ता ‘कुशलता’ नभएका पदाधिकारीहरूलाई प्रश्न गर्नुपर्छ। पर्यटन र वातावरण जस्तो संवेदनशील मन्त्रालय गैरजिम्मेवार व्यक्तिको हातमा रहनु प्रदेशको दुर्भाग्य हो।>
>
>>