झरीमा सुरक्षित आमा,सुरक्षित शिशु

Jasus Khabar 3925+ समाचार ( )
४ आषाढ २०८२

वर्षा सुरु भइसकेको छ। आकाश गर्जन्छ, बालबालिका सडकमा छपछपाउँदै रमाउँछन्। खेतबारीमा हरियाली पलाउँछ। यतिबेला गर्मीले सताएको अवस्थामा वर्षाको प्राकृतिक चिसोले स्वाभाविक रूपमा आनन्दित र रोमान्टिक बनाउँछ। तर, यही मौसमी परिवर्तन कतिपयका लागि चिन्ताको कारण बन्न सक्छ, विशेषगरी गर्भवती महिलाका लागि।

गर्भवतीको शरीरमा गर्भावस्थाकै कारण विभिन्न जैविक र हार्मोनजन्य परिवर्तन भइरहन्छ। प्रतिरक्षा प्रणाली केही कमजोर भएको अवस्थामा बाह्य संक्रमणले सहजै असर गर्न सक्छ। झरीको मौसममा यो जोखिम झनै बढ्छ। सामान्य अवस्थामा त संक्रमणले केही दिनको असहजता मात्रै ल्याउँछ, तर गर्भवतीमा यस्ता ससाना संक्रमणले ज्यानमै खतरा पुर्‍याउन सक्छ। आमा बिरामी परे, त्यसको असर गर्भमा रहेका भ्रूणमा पनि पर्छ। भर्खरै गर्भधारण गरेकी महिला हुन् वा प्रसूति नजिकिएकी, झरीको मौसमले सबैका लागि सावधानीको घण्टी बजाइरहेको हुन्छ।

नेपालको मातृमृत्युसम्बन्धी पछिल्लो तथ्यांकले ‘नेपाल मातृ मृत्युदर निगरानी अध्ययन २०७८’ अनुसार, नेपालको मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १ सय ५१ छ। जनगणना २०७८ सँगै गरिएको सो अध्ययनले कुल ६ सय ५३ जना महिलाहरूको मृत्यु गर्भावस्था वा सुत्केरी (प्रसव भएको ४२ दिनभित्र) भएको देखाएको छ। यसरी यस अवस्थामा मृत्यु हुनुका कारणहरूमा गर्भ, गर्भका जटिलता, प्रसवका जटिलताहरू त छँदैछन्, गर्भसँग सम्बन्धित नभएका अन्य रोगहरू जस्तै निमोनिया, मुटुका समस्या, कलेजो/मिर्गौलाको समस्या, संक्रमणहरू ३२ प्रतिशत रहेको देखायो। अर्थात्, मातृमृत्युका कारण अन्य मानिसहरूलाई हुने रोगहरू पनि हुन सक्छ, गर्भवतीहरू केवल गर्भका जटिलताले मात्र ज्यान गुमाउँदैनन् भन्ने स्पष्ट छ।

नेपालजस्तो उष्णदेशीय जलवायु भएको देशमा वर्षा धेरै समस्या लिएर आउँछन्। जहाँ पानी धेरै पर्छ, त्यहाँ सडकमै पानी जम्छ, नालामा फोहोर थुप्रिन्छ, खानेपानी दूषित हुन्छ। यिनै कारणले झाडा–पखाला, टाइफाइड, हेपाटाइटिस, स्किन इन्फेक्सन, रुघाखोकी, निमोनियाजस्ता रोगहरू बढ्छन्। अरू बेला सामान्य रूपमा निको हुने हेपाटाइटिस् ‘ई’को संक्रमण गर्भावस्थामा अति नै गम्भीर हुन्छ। दूषित पानीका कारण हुने हेपाटाइटिस ईको संक्रमणले गर्भावस्थामा मृत्युको जोखिम ४० प्रतिशतसम्म हुन्छ।

अझ वर्षा र गर्मीसँगै भित्रिन्छ लामखुट्टे। त्यसैले लामखुट्टेले सार्ने डेंगु, मलेरिया, चिकुनगुनियाजस्ता कीटजन्य रोगहरूको जोखिम झन् भयावह हुन्छ। तीमध्ये डेंगु अहिले नेपालको सहरदेखि गाउँसम्म फैलिइसकेको छ। स्वास्थ्य मन्त्रालयको कीटजन्य रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ मा मात्रै डेंगु संक्रमण ५५ जिल्लामा फैलिएको थियो। संक्रमित संख्या ५२ हजार नाघेको थियो, तीमध्ये ४३ प्रतिशत महिला थिए।अब कल्पना गरौं, कुनै गर्भवती महिला कलेजोमा असर पार्ने हेपाटाइटिस ईसँग संक्रमित भइन् भने के होला ? गर्भकालको दोस्रो वा तेस्रो महिनामा यस्तो संक्रमणले ज्यानै लिने सम्भावना उच्च हुन्छ। वा, डेंगुले उनलाई चपेटामा पार्‍यो भने गर्भपतन, रक्तस्राव वा अकाल प्रसवको जोखिम रहन्छ। साना लक्षण बेवास्ता गर्दा सिंगो परिवार र समुदाय पीडित बन्न सक्छ। झन् नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थासम्म पुग्नै कठिन, बाटो चिप्लो, गाडी नचलेको अवस्था र आर्थिक अभाव हुँदा महिलाहरूले समयमा उपचार पाउँदैनन्। यो परिस्थितिमा वर्षाको पानी जीवनदायिनीभन्दा पीडादायिनी सावित हुन सक्छ।

संक्रमणको जोखिमसँगै वर्षायाममा आहार, सरसफाइ र दैनिक बानी व्यवहारमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। पानीको बोतल किनेर पिउने कि धाराको पानी उमाल्ने ? खुला चटपटे खाने कि घरमै पकाएको ? वर्षामा घरबाहिरको खानपानले झन् जोखिम बढाउँछ। भिजेको कपडा लगाएर बस्दा छालामा संक्रमण हुन सक्छ। सरसफाइमा लापरबाही हुँदा योनिमार्गबाट संक्रमण भित्रिन सक्छ। र, गर्भवती शरीरको कुनै पनि भागमा सानो संक्रमण भए पनि त्यसले शारीरिक थकान, ज्वरो, भोक नलाग्ने, रक्तअल्पता र अन्ततः गर्भको वृद्धि प्रभावित हुने अवस्था ल्याउन सक्छ।

त्यसैले वर्षायाममा सबैले सावधानी अपनाउनु पर्छ। गर्भवती महिलाले अझ विशेष सतर्कता अपनाउनुपर्छ। खानेपानी सधैं उमालेर वा फिल्टर गरेर पिउनुपर्छ, तर गर्मी छ भनेर फ्रिजको चिसो पानी खानु हँुदैन। फलफूल, तरकारी सफा पानीले धोएर मात्र खानुपर्छ। लामखुट्टेबाट बच्न झुल वा मच्छर भगाउने अन्य उपाय अपनाउनु पर्छ। लुगा चिसो भए तुरुन्त फेर्नुपर्छ, शरीर नचिस्याउने गरी राख्नुपर्छ। सार्वजनिक शौचालयभन्दा सकेसम्म घरमै वा सफा शौचालय प्रयोग गर्नुपर्छ। सकेसम्म भिडभाडबाट टाढा बस्नु राम्रो। रुघा, ज्वरो, पेट दुख्ने, बान्ता लाग्ने, वा असामान्य रक्तस्रावजस्ता कुनै पनि लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था जानु उपयुक्त हुन्छ। अझै राम्रो त नियमित गर्भजाँच नछुटाउनु हो।

वर्षाको मौसमले शिशुको आगमन रोक्दैन, तर यसले शिशु र आमाको आगमनको यात्रालाई जटिल बनाउन सक्छ। यस्ता मौसमी जोखिमबाट जोगिन महिला स्वयं, उनका परिवारका सदस्यहरू र सेवा प्रदायक सबैले मिलेर सचेतता अपनाउनुपर्छ। हामी अझै यस्तो समाजमा छौं, जहाँ सुत्केरी हुने बेलासम्म पनि कतिपय महिलाले गर्भजाँच गराएकै हुँदैनन्। अझै धेरै गाउँमा गर्भवती महिला स्वास्थ्यसंस्था जान आफ्नो निर्णय गर्न सक्दिनन्। यस्तो परिवेशमा झनै मौसमी संक्रमण, बाटोघाटको असहजता र आर्थिक अवस्था मिल्दा ज्यानकै जोखिम बढ्ने देखिन्छ।

बुझ्नैपर्ने कुरा के हो भने, ‘मातृ मृत्युदर घटाउने लक्ष्य तबमात्रै सम्भव हुन्छ, जब हामीले हरेक गर्भवतीलाई सुरक्षित वातावरण दिने प्रयास गर्छौं।’ त्यो प्रयास सानो सावधानीबाट सुरु हुन्छ। वर्षाको पानीको थोपा–थोपा हाम्रा गरा–गरा चिस्याउने बेलामा, ती थोपाले जटिलता नथपियोस्। झरीले मौसम चियो बनाउँछ, तर संक्रमण पनि ल्याउन सक्छ। घरमा नयाँ शिशुको रुवाइ गुञ्जियोस्, बिरामीको चिसो सास होइन। स्वस्थ आमा भनेको सुरक्षित शिशु र सुरक्षित आमा हो। र यो बनाउन सक्नु भनेको सचेत परिवार र समाजको जिम्मेवारी हो।

प्रतिक्रिया