विराटनगर महानगरका प्रशासकीय प्रमुख पनि ५० दिनदेखि हाजिरमा वञ्चित

Jasus Khabar 3925+ समाचार ( )
२९ जेठ २०८२

सहसचिव रामचरित्र मेहता विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएको ५० दिन भयो। तर, अझै महानगरपालिकामा हाजिर गर्न पाएका छैनन्। मेयर नागेश कोइरालाले उनलाई हाजिर गर्न नदिएका हुन्।

मेयरको अड्डीलाई उपमेयर शिल्पा निराला कार्कीले पनि साथ दिएकी छन्। मेयर र उपमेयरको स्वार्थमा महानगरका कर्मचारीसमेत सहयोगी बनेर मेहतालाई हाजिर हुन नदिएपछि विराटनगर अहिले प्रमुख प्रशासकीयविहीन छ। महानगर कायममुकामयको भरमा चलिरहेको छ। यद्यपि, मेहताको विगत भने विवादरहित छैन। सुनसरीको इटहरी उपमहानगरपालिकाबाट विवादित भएपछि उनको सरुवा भएको थियो। त्यसको अढाई महिनामै उनले पुनः विराटनगरको प्रमुख प्रशासकीयको रूपमा सरुवा भएर आए। विराटनगर कोशी प्रदेशको एउटा मात्रै महानगर हो। 

मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ९ गते ४७ जना सहसचिवको सरुवा गरेको थियो। उक्त सरुवाबाट मेहताले विराटनगरको प्रमुख प्रशासकीयको जिम्मेवारी पाए। उनको सरुवा भएको बुधबार ५० दिन पूरा हुन्छ। तर, हालसम्म हाजिर हुन पाएका छैनन्। 

सहसचिवको सरुवा सूची सार्वजनिक हुनासाथ मेयर कोइरालाले मेहतालाई हाजिर गर्न नदिने बताएका थिए। सल्लाह नगरिकन मन्त्रालयले आफूखुसी प्रमुख प्रशासकीय पठाएकाले स्वीकार गर्न नसकिने मेयर कोइरालाको भनाइ थियो। पटक–पटक विवादमा परेका कारण हाजिर हुन नदिने उनको अडान अहिले पनि यथावत् छ। मेहताले आफूसँग सहमतिसमेत नलिई सरुवा मागेको र कार्यशैली ठीक नदेखिएकोले स्वीकार्न नसकिएको मेयर कोइरालाको भनाइ छ। 

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एकपटक पनि समन्वयन नगरेको भन्दै कोइराला क्रुद्ध बनेका थिए। आफूहरूलाई काम गर्ने कर्मचारी चाहिएको बताउँदै मेयर कोइरालाले ‘सेटिङ’मा प्रमुख प्रशासकीय पठाइएकाले चुप लागेर नबस्ने अडान लिएका थिए। विगत विवादित भएकाले मेहतालाई महानगर प्रवेशमा रोक लगाइने उनको भनाइ थियो। कोइराला अहिले नेपाल बाहिर छन्। इजरायल रहेका कारण उनीसँग सम्पर्क हुन सकेन। 

तर, यसअघि अन्नपूर्णसँगकै कुराकानीमा उनले भनेका थिए, ‘प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एकपटक हामीसँग त समन्वय गर्नु पर्छ नि। न मन्त्रालयले गर्‍यो। न त सचिवले नै। मेयर र जनप्रतिनिधिसँग एक वचन पनि नसोध्ने ? अनि माथिबाट ‘सेटिङ’ गरेर पठाइदिएपछि हामीले स्वीकार्नु पर्ने ? हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक परेको छ।’

इटहरी उपमहानगरमा हुँदा विवाद सिर्जना गरेका कारण विराटनगरमा स्वीकार गर्न गाह्रो परेको मेयरनिकट स्रोतको भनाइ छ। स्रोतले भन्यो, ‘इटहरीमा हुँदा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले फेरि विराटनगरको प्रमुख प्रशासकीय बनाएर पठाउने काम भयो। मेयर र उपमेयरसहितका जनप्रतिनिधिले खुलेर विरोध गरिरहेका छन्। त्यही भएर अहिलेसम्म हाजिर हुन नपाएका हुन्।’ 

मेयर कोइरालाले त्यतिबेलै अरूलाई नै प्रमुख प्रशासकीय बनाएर पठाउनुपर्ने बताएका थिए। ‘यो मान्छेलाई पठाउन लाग्यौं। काम गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्नु पर्दैन ? काठमाडौंबाट जे गरे पनि हामीले ठीक भन्नुपर्ने ? त्यो कदापि हुँदैन,’ कोइरालाको अडान थियो। विराटनगर सरुवा हुनुअघि मेहता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए। तर, उनी इटहरी हुँदा विवादमा तानिए। मेयर हेमकर्ण पौडेलसँग भने उनको सम्बन्ध राम्रै थियो। मेयरको इशारामा चलेर अरू जनप्रतिनिधि र कर्मचारीबीच झगडा लगाइदिएको अपजश पनि मेहताले खेपे। कर्मचारीको आन्दोलनलाई उकासेको, जथाभावी कर्मचारी सरुवा गरेको तथा उपमहानगर र वडाहरूको ‘सर्भर डाउन’ गराएको विवादमा उनी मुछिए।

मेयर पौडेलसँग मिलेर विद्यालयको पोसाक तथा चार वटा विद्युतीय बस खरिदमा मोटो रकम कमिसन खाएको आरोप मेहतामाथि लाग्दै आएको छ। इटहरीमा उपमेयर संगीताकुमारी चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उनीमाथि कारबाहीको सिफारिससमेत गरेको थियो। २०६० सालमा प्रशासनको तर्फबाट मधेसी कोटामा नाम निकालेका मेहता २०७० सालमा शिक्षा समूहबाट सहसचिवमा बढुवा भएका थिए।

मेहताले भने मेयर कोइरालाले नआउनु भनेपछि विराटनगरमा हाजिर गर्न नपाएको बताए। ‘मेयर आफैंले फोन गरेर ‘म तपाईंलाई हाजिर गराउन सक्दिनँ, नआउनु होला’ भन्नुभयो। त्यही भएर अहिलेसम्म विराटनगर महानगरमा हाजिर हुन गएको छैन,’ उनले भने। महानगरमा मेयरसँगै मिलेर काम गर्नुपर्ने र मेयरले नै नआउनु भनेपछि द्वन्द्व निम्त्याउन आफू नगएको उनको दाबी छ। मेहता अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार