बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर

Jasus Khabar 3925+ समाचार ( )
२२ श्रावण २०८२

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अदालतले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको छ। न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त फैसला गरेको हो। अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय बढी देखिएको रकमलाई गैरकानुनी आर्जन ठहर गरेको छ।

अदालतको फैसलाअनुसार, जाँच अवधिमा थापाको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ हुँदा खर्च भने १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ देखिएको थियो। आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि अदालतले उक्त रकमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर ठहर गरेको हो। अदालतले सोही ऐनको दफा २०(२) बमोजिम थापालाई एक वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। साथै, उक्त बिगो बराबरको सम्पत्ति र सोबाट बढे/बढाएको सम्पत्तिसमेत जफत हुने आदेश दिएको छ।

यसैगरी, विशेष अदालतले मेयर थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी पुर्‍याएको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ। बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाखभन्दा बढीको नदीजन्य पदार्थमा हानिनोक्सानी गरेको ठहर गर्दै अदालतले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको ठहर गरेको हो।


प्रतिक्रिया