सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले नियम विपरीत गाडी भाडामा राखेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले पालिकाले उपलब्ध गराएको जिन्सी अनुसार १ वटा साना सवारी साधन चालु अवस्थामा रहेको र पालिकाले आर्थिक वर्ष २०७९/८० मा कार्यालय प्रयोजनको लागि अन्य १ वटा गाडी भाडामा राखिएको प्रति आपत्ति जनाएका छन् ।
>
महालेखाले कार्यालय प्रयोजनको लागि मासिक चलाक, इन्धन र मर्मतबाहेक गाडी भाडा मात्रै ८६ हजार रुपैयाँ भुक्तानी दिनेगरि सवारीधनीसँग सम्झौता गरेर सवारी भाडामा लिएर आर्थिक वर्ष २०७९/८० मा १० लाख ३२ हजार भुक्तानी दिइएको जनाएको छ । >
महालेखाले कार्यालय प्रयोजनकोलागि कार्यालयमा १ थान सवारी साधन भएको अवस्थामा थप १ वटा गाडी मासिक रुपमा सवारी भाडामा लिएको भुक्तानी दिन नमिल्ने र भाडा बापत दिएको भुक्तानी नियम सम्मत नभएको र अनियमित भएको प्रतिवेदनमा उल्लेख गरेको छ । >
गाउँपालिकामा कार्यालय प्रयोजनको लागि गाडी हुँदाहुँदै थप १ वटा गाडी भाडामा राखेको प्रति आपत्ति जनाएको हो । >
गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाले आफ्नै भाइको गाडी भाडामा राखेर मासिक ८६ हजार गरी आर्थिक वर्ष २०७९/८० मा मात्रै १० लाख ३२ हजार भुक्तानी दिइएको फेला परेको छ । >
महालेखापरीक्षकले सार्वजनिक गरेको २०७९/०८० को बार्षिक प्रतिवेदनको क्रम संख्या ५३ तथा पेज नम्बर १७ मा उल्लेख छ । >
पालिका अध्यक्ष मियाले गाडी भाडामा राखेपछि पार्टीका नेता तथा कार्यकर्ता र आफन्तहरुलाई काठमाडौं लगायत देशैभरी घुमघाममा प्रयोग गरिरहेको र कैयौंपटक दुरुपयोग समेत गरेको आलोचना भएको थियो । >
माथि उल्लेखित रकम एक आर्थिक वर्षको मात्रै भएपनि अध्यक्ष मियाले तीन आर्थिक वर्षसम्म लगातार गाडी भाडामा राखेको थियोे । हाल उक्त गाडी भाडामा नरहेको समाचार श्रोतले जनाएको छ ।>>