चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका–६ की मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको हो। खड्का गुलरियामा आफन्तको व्रतबन्धमा सहभागी हुन आएकी थिइन्। >
घटनास्थल गुलरिया नगरपालिकाको डम्पिङ साइट नजिक भएकाले फोहोर फाल्न गएका सरसफाइकर्मीले बालिकाको उद्धार गरेका थिए। चितुवाको आक्रमणमा बालिकाको मृत्यु भइसकेको प्रहरी उपरीक्षक केदार खनालले बताए। >
जिल्लाको गुलरिया र मधुवनमा नौ वर्षीया खड्का र अढाई वर्षीय बालक गरी दुई जनाको चितुवाको आक्रमणमा मृत्यु भइसकेको छ। यस्तै, गुलरिया बालापुर गाउँका दश वर्षीय सृजन चौधरी चितुवाको आक्रमणमा घाइते भएर उपचाररत छन्।>>