भोक्राहामा एम्बुलेन्सको अभाव: पुरानो एम्बुलेन्सको इन्जिन चोरी, नेतृत्वमाथि प्रश्न

Jasus Khabar 3925+ समाचार ( )
९ वैशाख २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एम्बुलेन्सको अभावले स्थानीय बासिन्दामा गम्भीर चिन्ता र असन्तुष्टि बढाएको छ। गाउँपालिकामा एक मात्र पुरानो एम्बुलेन्सको इन्जिन चोरी भएको खबर सार्वजनिक भएपछि स्वास्थ्य सेवामा थप संकटको स्थिति आएको छ।


नेकपा एमाले सुनसरीका जिल्ला सदस्य तथा युवा नेता असफाक ओमरीले गाउँपालिकामा एम्बुलेन्सको अभावले आपतकालीन अवस्थामा बिरामीलाई उपचारका लागि अस्पताल पुर्‍याउनमा कठिनाइ भइरहेको बताउनुभयो। वहाँले स्वास्थ्य सेवामा गम्भीर असर पुर्‍याएको र नागरिकहरूको जीवनमा जोखिम बढाएको बताए ।


गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद मियाले स्वास्थ्य सेवामा सुधारका लागि विभिन्न योजनाहरू अघि बढाएको दाबी गर्दै आएका छन्। तर एम्बुलेन्सको अभाव र स्वास्थ्य चाैकी भोक्राहास्थितमा बेवारिसे अवस्थामा राखिएको पुरानो एम्बुलेन्सको इन्जिन चोरीको घटनाले उनको नेतृत्वमाथि प्रश्न उठाएको छ।


यस परिस्थितिमा स्थानीय बासिन्दाले नेतृत्वको जिम्मेवारी र पारदर्शिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। गाउँपालिकाले स्वास्थ्य सेवामा सुधारका लागि थप स्रोत र साधनको व्यवस्था गर्नुपर्ने र नागरिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने स्थानीयहरूको माग छ।


गाउँपालिकामा एम्बुलेन्सको अभावको कारणले बिरामीलाई अस्पताल पुर्याउन अझै पनि ठूलो समस्या उत्पन्न भइरहेको छ। आपतकालीन अवस्थाहरूमा स्थानीय नागरिकलाई जीवन र मृत्युको बीचको संघर्षमा छोड्नुपर्ने स्थिति आएको छ। यो अवस्थामा गाउँपालिका प्रशासनको नकारात्मक कामकाजी शैली र जिम्मेवारीविहीन नेतृत्वमाथि प्रश्न उठेको छ।


गाउँपालिका क्षेत्रको एक मात्र पुरानो एम्बुलेन्सको इन्जिन चोरी हुनु भनेको स्थानीय प्रशासनको अव्यवस्थापन र लापरवाहीको खुला प्रमाण भएको स्थानीय युवा नेता ओमरीको भनाइ छ । उनले एम्बुलेन्सको अभाव र चोरीको घटनाले गाउँपालिकाका नेतृत्वप्रति गम्भीर प्रश्न उठेको बताए । 


स्रोतका अनुसार एम्बुलेन्सको इन्जिन चोरी भएको घटनापछि पनि गाउँपालिका प्रशासनले यसलाई नियन्त्रण गर्न र नयाँ एम्बुलेन्सको व्यवस्था गर्न कुनै ठोस कदम उठाएको छैन। पालिकाका प्रशासनको गम्भीर लापरवाही र असमर्थताको परिणाम भएको स्थानीयहरुको कथन छ । 


स्थानीय बासिन्दाहरूले अध्यक्ष आजाद मियाका नेतृत्वमा भइरहेको यस्तो गैरजिम्मेवार कार्यशैलीका कारण स्वास्थ्य सेवामा सुधारको कुनै सम्भावना नरहेको बताएका छन्। उनीहरूले स्थानीय सरकारको आलोचना गर्दै एम्बुलेन्सको अभाव र पुरानो एम्बुलेन्सको इन्जिन चोरीको घटनाले नेतृत्वको पारदर्शिता र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।


पालिका अध्यक्षमा मिया निर्वाचित भएको करिब तीन वर्षको कार्यकालमा पालिकामा एम्बुलेन्सको व्यवस्थापन गर्न सकेका छैनन् । पालिकाले गत वर्ष र चालु आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि ३५ लाख बजेट विनियोजन गरेपनि खरिद गर्न सकेका छैनन् ।


भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरा शाहले इन्जिन चोरीको विषयमा आफुले स्थलगत अनुगमन गर्ने र यस बारे खोजीनिति गर्ने प्रतिक्रिया दिनुभयो ।


भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाले आफ्नो कार्यकालमा नभइ पुर्व अध्यक्ष महेन्द्र प्रसाद यादवको कार्यकाल देखि एम्बुलेन्स थन्किएको र आफुहरुले प्रयोग समेत नगरेको बताउनुभयो । आफुले सो एम्बुलेन्सको मर्मतमा बढी खर्च हुने र गुणस्तरीय नहुने वातावरण देखिएपछि मर्मत नगरेको प्रतिक्रिया दिनुभयो ।


पुर्व पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले एम्बुलेन्स मर्मतका लागि इनरुवा नगरपालिका-४ स्थित सलाम अटाे वर्कशप ग्यारेजमा राखिएका थिए । निर्वाचन पछि अध्यक्षमा अजमल अखतर आजाद निर्वाचित भएपछि मर्मत गर्न चाहेनन् । पालिका अध्यक्षमा मिया निर्वाचित भएपछि स्थानीय पत्रकारहरुले एम्बुलेन्स प्रकरणमा गरिएको रिपोर्टिङको क्रममा इन्जिन रहेको समाचार श्रोतको दाबी छ । तर यति बेला प्रतिक्रिया लिने क्रममा पहिला देखिनै त्यस्तै अवस्थामा रहेको दाबी गरेका हुन् । जुन सरासर झुठो भएको पुष्टि भएको छ । ग्यारेजमा थन्किएको एम्बुलेन्सलाई पालिका अध्यक्ष मियाले आफ्नो कार्यकालमा इनरुवाबाट स्वास्थ्य चाैकी भोक्राहा ल्याएर थन्काइएको समाचार श्रोतको दाबी छ । 

प्रतिक्रिया