मेयरको धम्कीपछि रौतहटका पत्रकार रवीन्द्र झुण्डिएको अवस्थामा मृत फेला

Jasus Khabar 3925+ समाचार ( )
४ श्रावण २०८२

रौतहटको कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी शनिबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूले तत्कालै उपचारका लागि अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ ।

प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार वाचन गर्ने, लेख्ने र सम्पादन गर्ने काम गर्थे ।

केही समयदेखि उनले कटहरिया नगरपालिकामा देखिएको खानेपानी समस्यासम्बन्धी समाचार प्रकाशन गरेका थिए । सोही समाचारका कारण उनलाई नगरप्रमुख अजयप्रकाश जयसवालले धाकधम्की दिएको स्थानीयको भनाइ छ ।

परिवार र नजिकका आफ्नका अनुसार मेयरको धम्कीपछि उनी मानसिक तनावमा थिए र डरका कारण घरबाहिर जान समेत छाडेका थिए ।

यसअघि प्रजापतिलाई मेयर जयसवालले गालीगलौज गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट, प्रेस चौतारी नेपाल रौतहट शाखा लगायतका संघसंगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए ।


प्रतिक्रिया