एमएम कपमा एपीएफद्वारा बागमती पराजित

Jasus Khabar 3925+ समाचार ( )
१५ वैशाख २०८२

बिराटनगरमा जारी तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोली शसस्त्र प्रहरी बल ( एपीएफ ) विजयी भएको छ ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

लक्ष्य पछ्याउने क्रममा एपीएफका ओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए । अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए जुन क्रममा १३ बलमा २ चौकार १ छक्का प्रहार गरे । बागमतीको बलिङ्मा अशिम श्रेष्ठले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिंग गरेको बागमती प्रदेशले १९.३ ओभरमा ८० रनमा सबै विकेट गुमायो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१ रन योगदान दिए भने बिबेक राना मगरले १३ तथा उत्तम थापा मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफको बलिंगमा दायाँहाते मिडियम पेसर प्रकाश जैसीले सर्वाधिक ४ विकेट लिए जुनक्रममा उनले ५ ओभरमा १ मेडन गर्दै ३५ रन खर्चिए । देब्रे हाते स्पिनर अभिशेस गौतमले ३ विकेट लिए जुनक्रममा ३.३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन मात्र खर्चिए । भोजराज भट्टले २ तथा दिवान पुनले १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ आर्मीसंग २ विकेटले पराजित भएको थियो । समूह‘ए’ अन्तर्गत अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी विजयी भए समूह विजेताको रुपमा फाइनल प्रवेश गर्नेछ । यदी बागमतीले आर्मीलाई पराजित गरेको खण्डमा भने नेट रन रेटमा तीन टीममध्ये उत्कृष्ट हुने टीम अघिल्लो चरण प्रवेश गर्नेछ ।

प्रतियोगितामा ६ टीम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बि’मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार