बदलिए नाम, उही खेल-कांग्रेसमा अझै परिवारवादकै मेल !

Jasus Khabar 3925+ समाचार ( )
२ चैत्र २०८२

“बद्लिएको कांग्रेस” भन्ने नारा सुन्दा लाग्छ अब पार्टीमा नयाँ सोच, नयाँ संस्कार र योग्यताको सम्मान हुनेछ। तर व्यवहार हेर्दा भने कथा बिल्कुलै फरक देखिन्छ। समानुपातिक प्रणाली, जसलाई समावेशिता र अवसरको ढोका खोल्ने माध्यम भनिएको थियो, त्यही प्रणालीलाई कांग्रेसका शीर्ष नेताहरूले आफ्नै परिवार र नातागोतालाई संसद छिराउने भर्‍याङ बनाएको आरोप फेरि उठेको छ।

यस पटक समानुपातिक सूचीमा गगन थापाका आफ्नै ससुरा सांसद बनेका छन्। त्यति मात्र होइन, कांग्रेसका अन्य शीर्ष नेताहरूका श्रीमती, भाञ्जी र नजिकका आफन्तहरू पनि सांसद बनेका छन्। 

के यही हो “बद्लिएको कांग्रेस”?

देशभर हजारौं इमानदार कार्यकर्ता छन्, वर्षौंसम्म पार्टीका लागि पसिना बगाउने नेता–कार्यकर्ता छन्। तर जब सांसद बन्ने मौका आउँछ, तब उनीहरू होइन, नेताका परिवार र आफन्तहरू अगाडि आउँछन्। यस्तो अवस्थामा पार्टीभित्रको लोकतन्त्र र समान अवसरको कुरा केवल भाषणमै सीमित भएको देखिन्छ।

समानुपातिक प्रणालीको मर्म भनेको समाजका पछाडि पारिएका वर्ग, महिलाहरू, अल्पसंख्यक र योग्य व्यक्तिलाई अवसर दिनु हो। तर कांग्रेसले यसलाई “परिवार व्यवस्थापन कोटा” जस्तो बनाएको आलोचना चुलिएको छ।

नेताहरूले परिवर्तनको कुरा गर्छन्, तर निर्णयको बेला आफ्नै घरभित्रै घुमिरहन्छन्। यसले एउटा गम्भीर सन्देश दिन्छ ।कांग्रेसमा परिवर्तनको नारा छ, तर व्यवहारमा परिवारवाद अझै ज्यूँका त्यूँ छ।

यदि यही शैली जारी रहने हो भने कांग्रेसले जनतालाई के सन्देश दिन खोजेको हो? के पार्टीभित्र अवसर केवल नेताका परिवारका लागि मात्रै सुरक्षित छ?

नत्र भने, “बद्लिएको कांग्रेस” को नारा केवल पोस्टर र भाषणमै सीमित रहनेछ । जहाँ परिवर्तनको कुरा गरिन्छ, तर व्यवहारमा उही पुरानो परिवारवादको राजनीति दोहोरिन्छ।

बदल्यौ कांग्रेस अब बदल्छौ देश भन्दै देश बदल्न आउनुभएका कांग्रेस समानुपातिक सांसदहरु 

अर्जुन नरसिह के.सी.गगन थापाका ससुरा 

रुक्मिणी देवी कोइराला, डा.शेखर कोइरालाकी श्रीमती

गंगालक्ष्मी अवाल, स्व नवीन्द्रराज जोशीकी श्रीमती 

प्रमिला कुमारी गच्छदार, बिजयकुमार गच्छादार कि श्रीमती

चन्द्रमोहन यादव, पूर्वराष्ट्रपति डा रामवरणका छोरा 

निनु कुमारी कर्ण, बिमलेन्द्र निधिकी भान्जी 

रिना उप्रेती, बल बहादुर के.सी. कि श्रीमती 

पत्रकार अजमल अन्सारीको लेख हो। वहाँ समय सन्दर्भ सामाजिक, राजनीतिक विषयमा कलम चलाउनुका साथै भ्रष्टाचार, बेथिति विरुद्ध समाचार लेख्ने काम गर्दछन्। 

प्रतिक्रिया