सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैनः सांसद केसी

Jasus Khabar 3925+ समाचार ( )
२२ भाद्र २०८२

  • नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्याको समाधान नहुनेमा जोड दिएका छन् ।
  • उनले सामाजिक सञ्जाललाई राजनीतिक विषय मात्र नभएर दुःखसुख र सन्देश प्रवाहको माध्यमका रुपमा लिनुपर्ने बताएका छन् ।
  • संसारभर दर्ता भइसकेको सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको हुन नसक्ने केसीको भनाइ छ ।

काठमाडौँ- नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको र नेपाली जनताको दुःखसुखको साथीको रुपमा रहेको बताए ।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उनको भनाइ छ । बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि सामाजिक सञ्जाल रहेको कुरा बिर्सिन नहुने बताए ।

सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको जिकिर गरे । उनले भने,‘सामाजिक सञ्जाल प्रभावकारी रुपले अहिले सञ्चालन भइरहेको छ । नेपाली जनताको दुःखसुखको साथीको रुपमा छ । सामाजिक सञ्जाल राजनीतिक रुपमा मात्रै छैन । यसले कुनैपनि रुपमा बिरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रुपमा पनि छ । यो एउटा सशक्त माध्यमको रुपमा छ । अभिछिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली काँग्रेस मुकदर्शक हुनु हुँदैन । यसमा बाटो खोज्नुपर्छ । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता भएको छ, नेपालमा दर्ता गर्न अटेर गर्नु हुँदैन । कुराकानी गरेर समस्या समाधान गर्नुपर्छ ।’

सांसद केसीले आम नागरिकहरु सामाजिक सञ्जाल बन्द गराएकोमा रुष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताए ।

प्रतिक्रिया