प्राकृतिक विपत्तिमा सरकारको भूमिका नदेखिएको भन्दै कांग्रेस नेतृत्व रुष्ट

Jasus Khabar 1+ समाचार ( )
१५ अशोज २०८१

अविरल वर्षाको कारण बाढी तथा पहिरोले ठूलो जनधनको क्षति हुँदापनि राहत तथा उद्धार कार्यमा सरकारको उदासिनता देखिएको भन्दै नेपाली कांग्रेसको नेतृत्व असन्तुष्ट बनेको छ।

मुलुक राष्ट्रिय विपत्तिमा रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली अनावश्यक रूपमा आफ्नो बसाई लम्ब्याएर अमेरिकामा बसेकोमा कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित छन् ।

उनले आफूनिकट नेताहरुसँग प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गरेका हुन् । संयुक्त राष्ट्रसंघको महत्वपूर्ण सत्रमा भाग लिईसकेपछि मुलुकमा परेको अप्ठ्यारोलाई हेरेर स्वदेश फर्किनुपर्नेमा अनावश्यक रुपमा हल्काफुल्का कार्यक्रममा दिन बिताएर राष्ट्रिय विपत्तिलाई बेवास्ता गरेको देउवाको गुनासो छ ।

उनले प्रधानमन्त्री ओली जनताको पीडामा गम्भीर नबनेको निश्कर्ष निकालेका छन् ।प्रधानमन्त्री देशबाहिर अनावश्यक कार्यक्रममा व्यस्त रहेको बेलामा सरकारले सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठकको आह्वान गरेपछिमात्रै सरकारको तर्फबाट पनि सर्वदलीय बैठकको आह्वान भएको थियो । सरकारले नै सर्वदलीय बैठक आह्वान गरेपछि पछि दाहालले आफूले बोलाएको बैठक स्थगन् गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार