विद्युत्‌ प्राधिकरणले काट्न थाल्यो बिजुलीको बिल नतिर्ने ग्राहकको लाइन

Jasus Khabar 3945+ समाचार ( )
१६ फाल्गुन २०८१

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । 

तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो ।  

लाइन काटिएका आठ सय ८८ ग्राहकबाट ४२ लाख ४२ हजार १९९ रुपैयाँ उठाउन बाँकी छ । यीबाहेक एक हजार ७३३ ग्राहकबाट तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।  

माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट ७ करोड ५९ लाख ५३१ राजश्व संकलन भएको छ । अग्रिम विद्युत् महसुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म १३ लाख ९ हजार ४ सय ९८ अग्रिम भुक्तानी हुने गरेको छ । हाल अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था छ । तर, हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।  

प्रतिक्रिया