ईदकाे चन्द्रमा उदाउने विषयमा सङ्क्षिप्त वैज्ञानिक विश्लेषण

Jasus Khabar 3925+ समाचार ( )
१५ चैत्र २०८१

- माेहम्मद जाकिर हुसैन

सुनसरी - ईदकाे चन्द्रमा उदाउने विषयमा विभिन्न हदीसकाे आशय बुझ्न यस सङ्क्षिप्त विश्लेषणले सहयाेग पुर्याउने छ । 

ईदको चन्द्रमा देखिने वा नदेखिने विषयमा इस्लामी शास्त्र (हदीस र फिक्ह) मा स्पष्ट निर्देशनहरू छन्। इस्लाममा नयाँ महीना (चन्द्र महीना) चन्द्रमा देखेर (हिलाल देखेर) निर्धारण गरिन्छ।

१. केही हदीसहरू : 

(१) चन्द्रमा देखेर साैम (उपवास) शुरू गर्नु  र ईद मनाउनु :

हदीस:

अबू हुरैरा (रजी.)  काे वृत्तान्त अनुसार अल्लाहका रसूल मुहम्मद (सल्ल.) ले भन्नुभयो, "चन्द्रमा हेरेर साैम (रोजा) शुरू गर र चन्द्रमा हेरेर साैम समाप्त गर । यदि बादल लागेर चन्द्रमा देखिएन भने तीस दिन पूरा गर।" (सहीह् अल्-बुखारी, सहीह् मुस्लिम)

(२) चन्द्रमा देखिएकाे आधारमा निर्णय गर्ने  :

हदीस:

इब्न उमर (रजी.) काे वृत्तान्त अनुसार मुहम्मद (सल्ल.) ले भन्नुभयाे, 'चन्द्रमा देखेपछि व्रत (साैम) राख र जब चन्द्रमा देख्छाै तब साैम (व्रत) तोड (ईद मनाऊ)। यदि चन्द्रमा देख्न कठिन भयो भने तीस दिन पूरा गर।" (सहीह् बुखारी, सहीह् मुस्लिम)

२. इस्लामी फिक्हमा भएकाे व्यवस्था :

(१) इस्लामी फिक्ह अनुसार, ईद वा रमजानको सुरुवात प्रत्यक्ष चन्द्रमा देखेर नै निर्धारण गरिन्छ। वैज्ञानिक गणना सहायक हुन सक्छ तर अन्तिम निर्णय प्रत्यक्ष चन्द्र दर्शनकै आधारमा हुनेछ।

(२) यदि कुनै ठाउँमा चन्द्रमा देखियो भने के सबैले मनाउनु पर्छ?

यस विषयमा फिक्ही (विधि शास्त्रीय) मतहरू फरक छन्:-

१. हनफी ममन्यता : यदि कुनै इस्लामी देशमा चन्द्रमा देखियो भने त्यो सबै इस्लामी मुलुकका लागि मान्य हुन सक्छ।

२.. शाफई र हम्बली मान्यता  : प्रत्येक क्षेत्र (देश) को आफ्नो चन्द्रदर्शन मान्य हुन सक्छ ।

३. निष्कर्ष

१. ईद वा रमजान चन्द्रमा देखेर नै निर्धारण गरिन्छ।

. यदि चन्द्रमा प्रत्यक्ष रूपमा नदेखिएमा ३० दिन पूरा गर्नुपर्छ।

२. यदि कुनै ठाउँमा चन्द्रमा देखियो भने त्यसको समाचार इस्लामी नियमअनुसार प्रमाणित भएपछि मात्र मान्य हुन्छ।

४. वैज्ञानिक गणना सहायक हुन सक्छ तर अन्तिम निर्णय प्रत्यक्ष चन्द्रदर्शनकै आधारमा गरिन्छ ।

प्रयाेगमा आधारित विज्ञान :

°°°°°°°°°°°°°°°°°°°°°°°°°°

चन्द्रमा पृथ्वीको वरिपरि परिक्रमा गर्ने भएकाले पृथ्वीको भिन्न-भिन्न स्थानहरूमा चन्द्रमा उदाउने समय फरक हुन्छ। पृथ्वीको परिधि लगभग 40,075 km छ र पृथ्वी 24 घण्टामा एकपटक घुम्छ।

चन्द्रमा पृथ्वीको आकाशमा एकै समयमा सबै ठाउँमा देखिँदैन तर यो अधिकतम 12 घण्टाभित्र पृथ्वीका सबै भौगोलिक क्षेत्रहरूमा उदाइसक्छ।

मुख्य कारणहरू:

१. पृथ्वीको घुम्ने गति : पृथ्वी आफ्नै कक्षमा घुम्ने भएकाेले विभिन्न स्थानमा चन्द्रमा देखिने समय फरक पर्छ।

२. समय क्षेत्रहरू (Time Zones) :  विभिन्न देश र भूभागहरूकाे समय क्षेत्रका कारण चन्द्रमा उदाउने समय फरक हुन्छ।

३. अक्षांश र देशान्तर प्रभाव : चन्द्रमा देखिने समय भूगोलअनुसार फरक हुन्छ।

निष्कर्ष:

यदि चन्द्रमा एक स्थानमा उदायो भने त्यो अधिकतम १२ घण्टाभित्र सबै भूगोलमा उदाइसक्छ।

विज्ञानले प्रयाेगद्वारा पत्ता लगाएकाे यस निष्कर्षलाई मान्ने हाे भने विश्वकाे कुनै कुनामा आज चन्द्रमा उदाइसक्याे भने न उदाएकाे क्षेत्रहरूमा आउने १२ घण्टाभित्र अनिवार्य रूपमा उदाइसक्छ । यस जगलाई टेकेर भाेलिपल्ट विश्वका बाँकी भागमा ईद मनाइनु पर्छ । 

यदि १० दिनसम्म माैसमकाे गडबडीले चन्द्रमा देखिएन भने अझ १० दिन ईदकाे लागि कुर्नु पर्दैन । चन्द्रमा न देखिए पनि ३० राेजा पूरा भएकाे भाेलिपल्ट ईद मनाउनु पर्छ । ईदका दिन साैम (व्रत) सही हाेइन ।

( लेखक  पूर्वमन्त्री हुन् ।)

प्रतिक्रिया