आजदेखि मौसममा फेरि बदली, चार प्रदेशमा हल्का र मध्यम वर्षा

Jasus Khabar 1+ समाचार ( )
१५ अशोज २०८१

मौसममा आजदेखि पुन: बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ। हाल कोशीमा बादलले ढाकिसकेको छ, जसले मधेश, बागमती र गण्डकी प्रदेशमा पनि प्रभाव पार्नेछ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, "बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ, जुन अन्य प्रदेशहरूमा पनि फैलिनेछ।" सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भने वर्षा कम हुने अपेक्षा गरिएको छ।यो मौसमको असर भोलि र पर्सीसम्म रहने बताइएको छ, तर ठूलो र लगातारको वर्षा नहुने आशा गरिएको छ।

हालका तीन दिनको लगातारको वर्षाले देशभर जमिन गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी र पहिरोको सम्भावना रहन्छ। मनसुनी वायुको प्रभाव देशभर कायम छ, र भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीले पनि नेपालमा आंशिक प्रभाव पारिरहेको छ।

आज राति कोशीसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। असोज १६ र १७ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना पनि रहेको जनाइएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार