चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्व लक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ।
>
दसैँ, दीपावली (तिहार) र छठ पर्वसम्मको सुरक्षा योजना नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले तयार गरेको हो। यस अवधिमा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन हुने जानकारी दिइएको छ।
>
चाडपर्वमा भीडभाड बढ्ने र मान्छेको व्यस्तताबीच चोरीतस्करी, सडकमा हुने सवारीको चाप, मठमन्दिरमा हुने भीड, कालोबजारी, जुवातास, पकेटमारी र मूर्ति विसर्जनलगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको मधेस प्रहरी कार्यालयका प्रमुख तथा नायब प्रहरी महानिरीक्षक लीलामणि आचार्यले बताएका छन्।
>
सुरक्षा योजनामा मेला उत्सव, सरकारी कार्यालय, बैङ्कहरूमा हुने भीड, यातायात सुरक्षा, लागुपदार्थ दुव्र्यसन तथा ओसारपसार र सांस्कृतिक कार्यक्रममा हुनसक्ने झडपलाई चुनौतीका रूपमा पहिचान गरिएको छ।
>
मधेस प्रहरी कार्यालयले चाडपर्व लक्षित योजना असोज १५ गतेदेखि सुरु गरिसकेको छ। यो योजना छठ पर्वपछि कात्तिक २५ गतेसम्म रहने नायब प्रहरी महानिरीक्षक आचार्यले स्पष्ट पारे।
>
>
प्रदेशका आठवटै जिल्लामा पहिले कार्यरत जनशक्तिमा प्रतिजिल्ला एक हजार चार सय प्रहरी थपिएका छन्, जसका कारण खटिने प्रहरीको सङ्ख्या छ हजार तीन सय ९४ हुने बताइएको छ।>>