कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई ओलीलेद्वारा सम्मान

Jasus Khabar 1+ समाचार ( )
१४ जेठ २०८०

नेकपा (एमाले)ले कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले बुढामगरलाई सम्मान गरेका हुन् ।

यही जेठ ५ गते दिउँसो ३ बजे बुढामगर सगरमाथाको शिखर उक्लिएका थिए । त्योसँगै उनले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरे । दुवै खुट्टाको घुँडासम्मको अंग गुमाएका उनले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हुन् ।

बुढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सबैका लागि प्रेरणादायी कार्य भएको बताए । मानिसले सहास र संल्कप गरे असम्भव लाग्ने कार्य पनि सम्भव हुने उनले उल्लेख गरे ।

उनले विदेशी सेनामा भर्ना भएका नेपालीका विषयमा नेपाल सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्नेमा जोड दिए । बुढामगरले बाध्यताका कारण १५ वर्ष ब्रिटिसको जागिर खानुपरेको भन्दै अब देशको सेवा गर्ने बताए । रोल्पाका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

कीर्तिमानी आरोही बुढामगरले अपांगता भएका व्यक्तिलाई दया–मायाभन्दा पनि अवसर दिनुपर्ने बताए । उनले सगरमाथा आरोहणसँगै आफूलाई नेपाल र नेपालीको शिर सगरमाथाजस्तै उच्च राख्न सकेको अनुभव भएको उल्लेख गरे । आउँदा दिनमा अपांगता जागरणका लागि काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया