सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।>
डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । पौडी खेल्नेक्रममा सविन सुनकोशी बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखे पनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईले बताए। >
सुनकोशीमा डुबेर सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले जानकारी दिए । बेपत्ता सविनलाई डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारि खोजी रहेको छ ।>
बेपत्ता सविनको खोजी तथा उद्धारका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् । >>