>
सप्तरीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा कार्यरत्त सुरक्षा गार्डको हतियार चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।>
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका- ६ वीरपुर बस्ने २० वर्षीय अपसाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।>
>
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार युवकलाई शुक्रबार बिहान करिब पौने ४ बजेको समयमा सिरहाको लहान नगरपालिका ३ हस्पिटल चोक स्थित इलाका प्रहरी कार्यालय, लहानबाट खटिएका प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा युवकलाई हतियारसहित पक्राउ गरेको हो ।>
बिहीबार राति करिब साढे १२ बजेको समयमा खडक- ७, कल्याणपुर स्थित रहेको नेपाल बैंकको सेक्युट्री गार्ड शम्भुनाथ नगरपालिका–७, भगाहा बस्ने ३९ वर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका–५, बस्ने ४४ वर्षीय पर्शुराम चौधरी बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको अवस्थामा युवकले सोही कोठाको दराजमा रहेको एक नाले १२ बोर ३८६२७३ नम्बरको हतियार १ थान, त्यसको पाउचमा रहेको २० राउण्ड गोली, २ थान मोबाइल, डिजिटल तराजु र कालो झोला समेत चोरी भएको भन्दै साढे ३ बजे बैँकको गार्डले प्रहरीमा जानकारी गराएका थिए ।>
प्रवक्ता बस्नेतले चोरी भएको खबर पाएलगतै प्रहरी सञ्चार माध्यमद्वारा चोरी भएका घटना विवरणका टिपोट जिल्ला प्रहरी कार्यालय सप्तरी, सिरहा लगायत अन्य जिल्लामा जानकारी गराई शंका लागेको व्यक्तिलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने हुलिया परिपत्र गरेपछि युवक पक्राउ परेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।>
प्रहरीले युवकको साथबाट कम्प्युटर स्कयानर २ थान, ल्यापटप २ थान, खुकुरी २ थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड (एक नाले १२ बोर हतियार) लगायतको सामग्री बरामद गरेको हो ।>
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।>>>