मोरङमा कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

Jasus Khabar 1+ समाचार ( )
२१ अशोज २०८१

मोरङको बेलबारीमा आइतबार साँझ दुर्घटनामा नेपाल प्रहरीका ३२ वर्षीय जवान चित्रसागर राईको मृत्यु भएको छ।कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।

मृतक प्रहरी जवान मोटरसाइकल चालक हुन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।दुर्घटनालगत्तै प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया