देवानगञ्ज क्षेत्रका नाकाबाट खुलेआम तस्करी, सशस्त्र प्रहरीको नाङ्गो चाल

Jasus Khabar 3925+ समाचार ( )
२९ वैशाख २०८२

सुनसरी । पाकिस्तान–भारत युद्धको निहुँमा सुनसरीका सिमा नाकामा कडाइ गरिएको सशस्त्र प्रहरीको दाबी देवानगञ्ज क्षेत्रका नाकामा आएर धज्जी उडेको छ। "सीमामा देखावटी ड्युटी र खुलेआम तस्करी" यही ‘फर्मुला’ मा देवानगञ्ज नाका चलिरहेको पुष्टि स्थानीय स्रोतले गरेको छ।


केही दिनअघिको व्यापक तस्करी प्रकरण सेलाउन नपाउँदै फेरि रातारात तस्करीका सामान इनरुवा सदरमुकामसम्म पुग्ने क्रम रोकिएको छैन। विशेषगरी निरीक्षणमा उच्च प्रहरी अधिकृतको टोली आउँदा सीमामा ड्युटी कडाइ गरेजस्तो देखाउने तर उनीहरू फर्किएलगत्तै पुरानै शैलीमा आर्थिक लेनदेनका आधारमा तस्करी गराउने काम बाक्लिँदो रहेको छ।


स्थानीयवासी र सुरक्षास्रोतहरूका अनुसार उच्च अधिकारीहरु अनुगमनमा आउनु अघि नै तस्करहरूलाई सूचना पुग्छ। अनि निरीक्षण सकिएपछि देवानगञ्ज क्षेत्रका नाकाहरु पुनः तस्करीको खुला मैदान बन्छ। तस्करी रोक्न खटाइएको सशस्त्र प्रहरी नै तस्करसँग मिलेर लेनदेन गर्दै सीमा पार गराइदिने गरेको खुलेको छ।


सुरक्षा होइन, तस्करी प्रवर्द्धन !


देवानगञ्जमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को दरबन्दी भएर पनि तस्करी रोकिएको छैन। बरु, प्रहरी र तस्करबीचको सिण्डिकेट झनै बलियो हुँदै गएको स्थानीय बासिन्दाको गुनासो छ। दिनहुँ तस्करी हुने तर सशस्त्र प्रहरीले नदेखेजस्तो गर्ने शैलीले देवानगञ्ज नाका अब तस्करीको खुला गल्ली बनिसकेको छ।


उक्त क्षेत्रमा पटक–पटक हुने तस्करी प्रकरणमा सशस्त्र प्रहरीकै मिलेमतो र आर्थिक लेनदेनको गन्ध बलियो हुँदै गएकाले ‘सुरक्षा बल होइन, तस्करीको संरक्षक’ बनेको आरोप लाग्न थालेको छ।


स्थानीय प्रशासन र सशस्त्र प्रहरीको उच्च कमाण्ड भने लापरबाही र बेवास्तामा रमाएको देखिन्छ। सिमा सुरक्षामा खटिएका जवान र अधिकृतहरूको संलग्नताबिना यसरी रातारात सामान सीमा पार हुन नसक्ने भएकाले देवानगञ्ज नाका अहिले ‘प्रहरीको संरक्षणमा तस्करीको केन्द्र’ बनेको प्रष्ट देखिन्छ। तस्करी रोक्न आएका निरीक्षण टोलीलाई झुक्याउन ‘शो’ गर्ने काम समेत भइरहेको स्थानीयहरूको आरोप छ।


चोरी तस्करी नियन्त्रणका लागि त्यहाँ डिएसपीको कमाण्डमा सशस्त्र प्रहरीको वेश क्याम्प स्थापना गरिएको छ । जसको प्रमुख डिएसपी सुमन लामिछाने रहेका छन् । तस्करी नियन्त्रणमा लामिछाने पुर्ण रुपमा चुकेकाले राज्यलाई गम्भीर क्षति पुगेको छ ।


उच्चस्तरीय छानबिनको माग


देवानगञ्ज क्षेत्रका नाकाहरुबाट भइरहेका तस्करीका गतिविधिलाई तत्काल रोक्न नसके सुनसरीको सिमा सुरक्षा नै धरापमा पर्ने जोखिम देखिएको छ। स्थानीय सर्वसाधारण र सचेत वर्गले तत्काल उच्चस्तरीय छानबिन गरी तस्करीमा संलग्न तस्कर, प्रहरी अधिकृत र जवानहरूलाई कारबाही गर्न माग गरेका छन्। नत्र, देवानगञ्ज क्षेत्रका नाका सिंगो प्रदेशकै ‘तस्करीको राष्ट्रिय ट्रान्जिट’ बन्ने निश्चित छ।


प्रहरीको संरक्षणमा सीमा पार तस्करी, सुरक्षा व्यवस्था कागजी मात्र


सीमा क्षेत्रमा कडाइ गरिएको भन्दै सरकारी निकायले ठूला–ठूला कुरा गरे पनि देवानगञ्ज क्षेत्रका कप्तानगञ्ज र साहेबगञ्ज नाका भने सशस्त्र प्रहरीकै संरक्षणमा तस्करीको खुला गल्ली बनेको छ। दिनहुँ दिउँसो र रातको समयमा नाकाबाट कपडा, सुर्तीजन्यलगायत ठूलो मात्रामा भन्सार छली मल, प्याज,चिनी, मोबाइल, गुटखा, किराना सामान र घरेलु सामग्रीलगायत तस्करीका सामान भित्रिने क्रम रोकिएको छैन।


केही दिन अघि मात्रै तस्करीका सामान इनरुवा लगायतका विभिन्न ठाँउमा प्रवेश गरेको थियो। त्यसबारे समाचार सार्वजनिक भएसँगै उच्चस्तरीय निरीक्षण टोली आएर एकदिन ‘शो’ गरेका थिए । त्यसपछि फेरि उस्तै तस्करी, सशस्त्र प्रहरी हेरेजस्तो नगर्ने।


स्थानीय बासिन्दाका अनुसार अनुगमन टोली आउँदा तस्करी रोक्ने, फर्किएपछि प्रहरीकै मिलेमतोमा तस्करी हुने प्रष्ट देखिन्छ। प्रहरी अधिकारीहरूले तस्करीका सामान नाकामा रोक्नु त परै जाओस्, उल्टै तस्करलाई 'ड्युटी कहिले सकिन्छ, बाटो खाली छ कि छैन' भन्ने खबर नै गरिदिने गरेको आरोप पनि छ।


अब तस्करी रोक्ने कि संरक्षण गर्ने ?


सरकारले सीमा क्षेत्रमा कडाइ गरेको भन्दै कागजी निर्णय गरे पनि कार्यान्वयनमा लापरबाही देखिँदा देवानगञ्ज नाका अवैध तस्करीको केन्द्र बन्न पुगेको छ। सुनसरी प्रशासन र सशस्त्र प्रहरी उच्च कमाण्डले तस्करी नियन्त्रणमा देखाएको बेवास्ता र मिलेमतोले सिङ्गो सिमा सुरक्षा संकटमा परेको छ। यसबाट राज्यलाई गम्भीर क्षति पुगेको छ । तस्करहरुले खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउँदा नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेका छन् ।


देवानगञ्ज गाउँपालिकाभित्र बढ्दै गएको चोरी, तस्करीको घटनालाई गम्भीरताका साथ लिएर पालिका अध्यक्ष बेचन प्रसाद मेहताले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन गत बैशाख २५ गते शान्ति सुरक्षा बैठक मार्फत आग्रह समेत गरेको थियो । देवानगञ्ज गाउँपालिकाभित्र बढ्दै गएको तस्करीको घटनाले स्थानीय जनप्रतिनिधिहरु र नागरिकहरुले समेत आजित भइसकेको बताउँछन् । 

प्रतिक्रिया