लमजुङको राइनास नगरपालिका–७ मा खाना पकाउने क्रममा गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा नष्ट भएको छ। आगलागीमा गाई र भैँसीको पाडो सामान्य घाइते भएका छन्।>
>
शनिबार बेलुका करिब ७:१० बजेको समयमा राइनास नगरपालिका–७ बाङगेचौरस्थित बिर बहादुर नेपालीको खरले छाएको गोठमा खाना बनाउने क्रममा आगलागी भएको हो।>
>
प्रहरीका अनुसार बेलुका चलेको हावाहुरीका कारण आगो फैलिँदै गोठमा सल्किएको थियो। सूचना प्राप्त भएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि गोठ पूर्णरूपमा जली नष्ट भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिए।>
>
आगलागीका कारण गोठभित्र रहेका एकवटा गाई र एक भैँसीको पाडो सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले जनाए।>>