स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै यो मापदण्ड स्वीकृत गरेका हुन् ।>
मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो । यो मापदण्ड स्वीकृत भएसँगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर) प्रक्रिया थप व्यवस्थित हुनेछ ।>
निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने, न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरेको मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बताएका छन् ।>
‘निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्या मात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुंगाको रुपमा काम गर्ने छ’ डा. शर्माले भने, ‘यस मापदण्ड बमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ र तोकिएको मापदण्ड पालना नगर्ने जो सुकैलाई कडा कानुनी दायरामा ल्याइनेछ ।’>
यसैगरी, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रजनन् स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ, तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिन सक्ने र गुणस्तरिय सेवा नपाउँदा उनीहरुको जीवन समेत जोखिममा पर्न सक्ने खतरा थियो,’ डा. बुढाथोकीले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’>
मापदण्डमा आईयुआई र आईभीएफ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्ट लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ । पूर्वाधारतर्फ राष्ट्रिय भवन संहिता बमोजिमको भवन, विशिष्टीकृत एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्ष लगायतको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ ।>
प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । ती कक्षहरूको तापक्रम, सापेक्षिक आद्र्रता र हावाको गुणस्तर तोकिएको स्तरअनुरूप हुनुपर्ने छ ।>
सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था गरिएको छ । शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरी जस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको संख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ।>
‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’को मुख्य प्रावधानहरु>
सेवा सञ्चालन प्रक्रिया तथा मापदण्ड>
स्वास्थ्य संस्थाको स्तर, भौतिक पूर्वाधार र जनशक्तिको आधारमा प्रदान गरिने निःसन्तान व्यवस्थापनसम्बन्धी सेवाहरूलाई पाँच श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलो श्रेणीमा सबै स्वास्थ्य संस्थाले प्रदान गर्नसक्ने स्क्रिनिङ, निदान, परामर्श र प्रेषण जस्ता आधारभूत सेवाहरू पर्दछन् । दोस्रो र तेस्रो श्रेणीमा तालिम प्राप्त स्त्रीरोग विशेषज्ञबाट प्रदान गरिने क्रमशः औषधि तथा हर्मोनल उपचार र शल्यक्रिया सेवाहरू पर्दछन् । चौथो र पाँचौं श्रेणीमा विशेष मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र सञ्चालन गर्न पाउने क्रमशः आईयुआई र आईभीएफ जस्ता विशिष्ट सेवाहरू रहेका छन् । आईभीएफ सेवा प्रदान गर्ने संस्थाले अन्य सबै तहका सेवाहरू पनि उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ ।>
आईभीएफ सेवा सञ्चालन मापदण्ड>
आईभीएफ सेवा प्रदान गर्ने संस्थामा आईयुआई सेवाका लागि चाहिने सबै पूर्वाधारका अतिरिक्त इम्ब्रायोलोजी प्रयोगशाला, आकस्मिक सेवा, सघन उपचार कक्ष र शल्यक्रिया सेवा अनिवार्य रूपमा हुनुपर्दछ । यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ ।>
आईभीएफ सेवा सञ्चालनका लागि आवश्यक मापदण्डहरूः आईयुआईका लागि चाहिने पूर्वाधारका अतिरिक्त शल्यक्रिया कक्ष, रिकभरी कोठा र इम्ब्रायोलोजी प्रयोगशाला जस्ता थप भौतिक संरचनाहरू अनिवार्य हुनुपर्ने छ । औजार–उपकरणतर्फ आईभीएफ वर्कस्टेसन, सीओ२ इन्क्युबेटर, क्रायो–ट्याङ्क र माइक्रो–म्यानुपुलेटर सहितको इन्भर्टेड माइक्रोस्कोप जस्ता अति विशिष्ट उपकरणहरू हुनुपर्ने छ । जनशक्तिको हकमा निःसन्तान रोग विशेषज्ञ, इम्ब्रायोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट र विशेषज्ञ नर्स जस्ता विशेष योग्यता र अनुभव भएका जनशक्ति अनिवार्य हुनुपर्ने छ ।>
आईयुआई र आईभीएफसम्बन्धी अन्य प्राविधिक मापदण्ड>
यी विशिष्ट सेवाहरूको गुणस्तर सुनिश्चित गर्न विभिन्न प्राविधिक मापदण्डहरू तोकिएका छन् । यसअनुसार, वीर्य संकलन कक्ष, एन्ड्रोलोजी प्रयोगशाला र आईयुआई कक्ष एक–आपसमा जोडिएको हुनुपर्छ ।>
त्यसैगरी, शल्यक्रिया कक्ष र इम्ब्रायोलोजी प्रयोगशाला पनि सँगै जोडिएको र बीचमा ‘पास बक्स’ भएको हुनुपर्छ । यी कक्षहरूमा सूर्यको प्रकाश नछिर्ने, वातानुकूलित र असम्बन्धित व्यक्तिहरूको प्रवेश निषेध गरिएको हुनुपर्छ । साथै, संस्थाले फोहोरमैला व्यवस्थापन, पार्किङ, शुद्ध खानेपानी र अविच्छिन्न विद्युत आपूर्ति जस्ता सुविधाहरूको पनि सुनिश्चितता गर्नुपर्नेछ ।>
शुक्रकीट वा अण्डा दान गर्ने दाता (डोनर) का लागि मापदण्ड>
दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पती दुवैको लिखित मञ्जुरी हुनुपर्नेछ । दाताको परिचय पूर्ण रूपमा गोप्य राख्ने र एउटै व्यक्तिले निश्चित पटकभन्दा बढी दान गर्न पाउने छैन । दातालाई कुनै पनि प्रकारको प्रलोभनमा पार्न वा दबाब दिन पूर्ण रूपमा निषेध गरिएको छ भने कुनै पनि दाताले प्रलोभन वा प्रभाव वा दबाबमा परेर दान गर्न हुँदैन ।>>