साउदीको जुबेल सहरमा अलपत्र ४६९ जना नेपालीको उद्दार गर्न सरकारलाई एमालेको आग्रह

Jasus Khabar 3958+ समाचार ( )
१ जेठ २०८२

 नेकपा एमालेले वैदेशिक रोजगारीका लागि साउदी अरबिया पुगेर अलपत्र परेका ४६९ जना नेपाली कामदारको उद्दारका लागि सरकारसँग आग्रह गरेको छ।  बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद तथा प्रमुख सचेतक महेश कुमार बर्तौलाले त्यहाँको कम्पनी बन्द हुँदा ४६९ जना नेपाली अलपत्र परेको भन्दै उनीहरूको उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

'साउदीमा सेन्डन इन्टरनेशनल नामक कम्पनी बन्द हुँदा नेपाली श्रमिकहरू अलपत्र परेको भन्ने समाचार आइरहेका छन्। त्यहाँ झन्डै ४६९ जना नेपाली कार्यरत थिए। तिनीहरूले तलब पनि पाएका छैनन्। उहाँहरूको तलब र सेवा सुविधाको बारेमा कसैले वास्ता गरेको छैन। खानपीनसँगै बसोबासको अवस्था नाजुक रहेको सुन्नमा आएको छ। साउदीले बहिरगमन भिसा प्रक्रिया बन्द गरेका कारण उहाँहरू स्वदेश फर्किने अवस्था छैन।

उनले भने,'यसकारण त्यहाँस्थित नेपाली दूतावासलाई उहाँहरूको पीडासम्बन्धी सक्रिय गराउन आग्रह गराउन चाहन्छु।'

साउदी अरबको जुबेल सहरमा रहेको सेन्डन इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द हुँदा उनीहरू अलपत्र परेका हुन्। अलपत्र पर्नेमा प्रायजसो सो कम्पनीमा दुई वर्षभन्दा बढी समय काम गरेका नेपाली कामदार रहेका छन्। पीडितहरूले आफूहरू कम्पनी बन्द भएका कारण अलपत्र परेको र उद्दार गरिदिन त्यहाँको दूतावासलाई निवेदन दिएका थिए। अधिकांशले दुई महिनादेखि ९ महिनासम्म काम गरेको तर तलब नपाएको गुनासो गरेका छन्।

प्रतिक्रिया