पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।>
खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । यसैगरी शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ । >
मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ । ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध समेत गरेको छ ।
>>