काँग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका १० उम्मेदवारको नाम

Jasus Khabar 1+ समाचार ( )
२३ पौष २०८०

नेपाली काँग्रेसले राष्ट्रिय सभाका १० जना उम्मेदवारको टुंगो लगाएको छ। काँग्रेसले लामो रस्साकस्सीपछि आज बिहान उम्मेदवार चयन गरेको हो ।  

आइतबार राति ढिलो गरि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र आज बिहान बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गर्ने काम गरेको हो ।

कांग्रेसमा टिकट पाउनेहरुमा कोशी प्रदेशबाट पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, मधेश प्रदेशबाट आनन्द प्रसाद ढुंगाना, बाग्मतीबाट विष्णु देवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीबाट किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार हुनुहुन्छ ।


यसैगरि लुम्बिनी प्रदेशबाट विष्णु देवी सापकोटा, कर्णालीबाट कृष्ण रोकाया र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाउनुभएको छ ।

पार्टीका भागमा परेका १० जनामध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार