सोफिया कुरेशी टिप्पणी प्रकरण : मन्त्री विजय शाहको राजीनामा माग गर्दै प्रदर्शन

Jasus Khabar 3945+ समाचार ( )
३ जेठ २०८२

भारतको मध्य प्रदेशका आदिवासी मामिला मन्त्री विजय शाहले कर्नल सोफिया कुरेशीमाथि गरेको विवादास्पद टिप्पणीले उनलाई समस्या बढेको छ।

उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा पुगेपछि अब मध्य प्रदेशको विपक्षी कांग्रेसले उनको राजीनामाको माग गर्दै प्रदर्शन गरेको छ।

बीबीसीसँग कुरा गर्दै मध्य प्रदेशका विपक्षी नेता उमंग सिंगरले भने,‘भाजपाले आधारहीन मुद्दा दायर गरेर यो मुद्दालाई दबाउन खोजिरहेको छ। हामीले राज्यपाल मंगुभाई पटेललाई भेटेर विजय शाहको राजीनामा माग गरेका छौं।’

देशका छोरी र दिदीबहिनीहरूमाथि अपमानजनक टिप्पणी गर्ने मन्त्री विजय शाहले राजीनामा नदिएसम्म कांग्रेस धर्नामा बसिरहने उनले बताए।  

भाजपा नेता तथा मन्त्री विजय शाहले कथित रूपमा कर्नल सोफिया कुरेशीविरुद्ध विवादास्पद टिप्पणी गरेका थिए।

बुधबार मध्य प्रदेश उच्च अदालतले कर्नल सोफियाबारे गरेको टिप्पणीमा राज्य प्रहरी महानिदेशक (डीजीपी)लाई उनीविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएको थियो।

उच्च अदालतको आदेशपछि मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले कारबाही गर्न निर्देशन दिए। विवाद बढ्दै जाँदा विजय शाहले माफी मागे र एफआईआर दर्ता हुनबाट राहत पाउन सर्वोच्च अदालतमा निवेदन दिए।

तर, सर्वोच्च अदालतले पनि उनलाई हप्काएको छ।  

प्रतिक्रिया