सिटौलादेखि लेखकसम्म १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिनेगरी समिति बनाइयो, हामीलाई स्वीकार्य छैनः ज्ञानबहादुर शाही

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिनेगरी पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानविन समिति बनाइएको आरोप लगाएका छन् । उनले बैरागी नेतृत्वको समितिलाई निगाहमा बनेको समितिको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बैरागी नेतृत्वको समितिले सत्यतथ्य बाहिर ल्याउने भन्दा पनि अपराधलाई ढाकछोप गर्ने बताए ।

‘पहेँलो हो भन्दैमा पित्तल सुन हुनसक्छ ? कर्मचारीहरुको उच्चस्तरीय छानविन समिति हो भनेर भन्दैगर्दा के यो छानविन समिति हुन सक्छ ? यो त निगाह प्राप्त गरेको, एकैछिनका लागि अझ अपराधलाई कसरी ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका यी १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको प्रोपोगाण्डा हो,’– उनले भने ।

नेता शाहीले २०६४ सालका गृहमन्त्री कृष्णप्रसाद सिटौला र अहिलेका गृहमन्त्री रमेश लेखकसम्म १८ वर्ष गृहमन्त्री बनेका १४ जनालाई छानविनको दायरामा ल्याइनुपर्ने आफूहरुको माग यथावत नै रहेको बताए । उनले बैरागी नेतृत्वको समितिलाई ‘दुधको साँछी बिरालो’ को संज्ञा दिए । बैरागीको नेतृत्वमा बनेको छानविन समितिले न्याय दिन नसक्ने उनको भनाइ छ । उनले संख्याको आधारमा भिजिट भिसा प्रकरणजस्तो मुद्दालाई निस्तेज नपार्न आग्रह गरे । गृहमन्त्री लेखकले बनाएको समितिप्रति आफूहरुको आपत्ति रहेको उनले बताए ।


प्रतिक्रिया