सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ३५ लाख १९ हजार ७०० रुपैयाँ विविध खर्च गरेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिकाले विभिन्न पक्षसँग मिलेमतो गरी आर्थिक वर्ष २०७९/८० मा मात्रै विविध खर्चमा उक्त रूपैयाँ खर्च गरेको पाइएको हो ।
>
महालेखापरीक्षकको कार्यालयले भोक्राहा नरसिंह गाउँपालिकामा भएको विविध र खाजावापतको सो खर्च अस्वाभाविक भएको र सरकारको आर्थिक मितव्ययिता नीतिविपरीत मनपरी खर्च गरेको ठहर गरेको छ । >
गाउँपालिकाले विविधमा गरेको खर्च नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड–२०७७ को दफा ३ विपरीत रहेको महालेखाले स्पष्ट पारेको छ । >
जसअनुसार सार्वजनिक निकाय तथा सार्वजनिक पदधारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन तथा विविध खर्चलगायतका शीर्षकमा मितव्ययिता कायम हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले सो प्रावधानलाई बेवास्ता गर्दै विविध र खाजा खर्चमा धेरै रकम खर्च भएको छ । महालेखाले विविध र खाजा खर्चमा अस्वाभाविक खर्च भएको भन्दै भोक्राहा नरसिंह गाउँपालिकाप्रति आपत्ति जनाएको छ ।>
महालेखाको सो आपत्तिसँगै उक्त खर्च के कुन कार्यक्रमसँग सम्बन्धित हो नखुलेको जनाएको छ । उक्त खर्चको बिल र उक्त खर्च के कुन कार्यक्रमसंग सम्बन्धित हो पुष्टी हुने कागजात र उपस्थिति लगायतका प्रमाण संलग्न नभएको जनाएको छ । यस्तो खर्चमा नियन्त्रण गरी मितव्ययिता कायम गर्नुपर्दछ महालेखापरीक्षकले सार्वजनिक गरेको २०७९/०८० को बार्षिक प्रतिवेदनको क्रम संख्या २२ तथा पेज नम्बर ८ मा उल्लेख छ । >
महालेखाले उक्त रकम पालिकाको कुल आन्तरिक ५० लाख २४ हजार ८१३ रुपैयाँको ७० प्रतिशत हुन आएको जनाउँदै यस्तो खर्चमा मितव्ययिता कायम गर्नुपर्ने बताएको छ ।>>