आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण

Jasus Khabar 3925+ समाचार ( )
३१ जेठ २०८२

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ ।

पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

'परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै लैजान सके पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्था पनि आउँदैन', उनले भने, 'आरनमा काम गर्नेलाई थप व्यावसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो ।'

अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउँदै लैजाउनुपर्ने आवश्यकता रहेको बताए । 'आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्नसक्ने अवस्था बन्छ,' उनले भने ।

पालिकाले प्रत्येक व्यवसायीलाई ३० हजारभन्दा बढीका औजार उपलब्ध गराएको उनले जानकारी दिए । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले व्यवसायीलाई विद्युतीय पङ्खा, सुरक्षित पञ्जा, ग्रेडरलगायत सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया