बराहक्षेत्रमा लागू औषध गाँजासहित दुई युवक पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–०८ स्थित तिनकुनेमा लागू औषध गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ३४ किलोग्राम गाँजा फेला पारेको हो ।


प्रहरीका अनुसार मोटरसाइकलमा राखिएको दुईवटा जेब्राको झोलामा प्लाष्टिकले प्याक गरिएको अवस्थामा सो गाँजा बरामद गरिएको छ ।


पक्राउ पर्नेहरूमा जिल्ला उदयपुर, बेलका नगरपालिका–०८ का २२ वर्षीय धिरज राई र ऐ.ऐ. वडा नं.–०७ का ३१ वर्षीय लोकेन्द्र राई रहेका छन् ।


उनीहरूलाई लागू औषध गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रहरीले लागू औषध कारोबार र ओसारपसारमा संलग्नहरूमाथि कडाइ गरेको जनाउँदै आगामी दिनमा यस्ता गतिविधिमाथि थप निगरानी बढाइने जनाएको छ ।

प्रतिक्रिया