गाजामा मानवीय संकट : १४ हजार बालबालिकाको ज्यान जोखिममा

Jasus Khabar 3945+ समाचार ( )
८ जेठ २०८२

गाजामा अहिले अनिकाल छ। संयुक्त राष्ट्र संघका मानवीय मामिला अधिकारी टम फ्लेचरले गाजामा मानवीय सहायता नपुगेमा आगामी ४८ घण्टामा १४ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी मंगलबार दिएका थिए। 

उनले भनेका थिए, ‘म आगामी ४८ घण्टामा यी १४ हजार बालबालिकालाई बचाउन चाहन्छु।’ इजरायलले गाजामा मानवीय सहायता आपूर्ति ११ हप्तासम्म रोकेको थियो। प्रतिबन्ध हटेपछि सोमबार गाजामा सहायता पुगेको छ। 

राहत सामग्री बोकेका ट्रक गाजा प्रवेश गरे पनि संयुक्त राष्ट्र संघले त्यहाँका मानिससम्म सहायता नपुगेको जनाएको छ। इजरायली अधिकारीले मंगलबार ९३ ट्रकमा आटा, शिशु खाना र औषधि गाजा पुगेको बताए। तर संयुक्त राष्ट्र संघले केरेम शालोम क्रसमा ट्रक पुगे पनि मानिसलाई सहायता वितरण नभएको जनाएको छ।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘एउटा टोलीले इजरायलको अनुमति पाउन धेरै घण्टा पर्ख्यो, तर दुर्भाग्यवश उनीहरूले हाम्रो गोदाममा राहत सामग्री पुर्‍याउन सकेनन्।’

अन्तर्राष्ट्रिय विज्ञले अनिकालको जोखिमबारे चेतावनी दिएपछि इजरायलले आइतबार गाजामा ‘आधारभूत मात्रामा खाद्यान्न’ पठाउन अनुमति दिएको छ। अर्कोतिर बेलायत, फ्रान्स र क्यानडालगायतका  देशले इजरायललाई गाजामा आक्रमण रोक्न दबाब दिएका छन्। एजेन्सी

प्रतिक्रिया