जनता हिलो सडकमा, मन्त्री मन्सुरी चिल्लो गाडीमा, समग्रमा कस्तो रहयो अहिलेसम्मको कार्यकाल

Jasus Khabar 3954+ समाचार ( )
११ आषाढ २०८३

इनरुवा । सुनसरी क्षेत्र नं. ४ प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरी निर्वाचित भएको चार वर्षभन्दा बढी समय बितिसकेको छ। तर, उनको निर्वाचन क्षेत्रका नागरिकले भने अझै विकासको अनुभूति गर्न पाएका छैनन्।

निर्वाचनका बेला विकास, रोजगारी, कृषि सुधार र पूर्वाधार निर्माणका ठूला-ठूला सपना बाँडिएका थिए। तर, अहिले ती सपना हिलोमा गाडिएका छन्। वर्षात् सुरु भएसँगै क्षेत्रका अधिकांश सडक हिलाम्मे बनेका छन्। स्थानीयवासीहरू दैनिक सास्ती खेप्न बाध्य छन्, तर मन्त्री भने सरकारी चिल्लो गाडीमा सरर हिँडिरहेका छन्।

कार्यक्रम, स्वागत, खादा र मालामै समय बिताए

मन्त्री बनेपछि डा. मन्सुरीको समय विकास निर्माणभन्दा बढी कार्यक्रम, स्वागत, खादा र मालामै बितिरहेको छ। चार वर्षको अवधिमा निर्वाचन क्षेत्रमा देखिने गरी कुनै ठूला पूर्वाधार आयोजना सम्पन्न हुन नसकेको उनीहरूको गुनासो छ।

रोजगारीमा छैनन् मन्त्रीको ध्यान 

उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री मन्सुरीले प्रदेशका युवालाई रोजगारी दिने वा उद्योग स्थापना गर्ने कुनै ठोस योजना ल्याउन नसकेको आलोचना भइरहेको छ। बेरोजगार युवाहरू अझै वैदेशिक रोजगारीको बाटो समात्न बाध्य छन्।

कृषि मन्त्री हुँदापनि निर्वाचन क्षेत्रकै किसानलाई समस्या 

कृषि मन्त्री हुँदा पनि किसानले सहज रूपमा मल, बीउ र कृषि सामग्री पाउन सकेका छैनन्।  किसानहरू भारतीय बजारको भरमा कृषि सामग्री किन्न बाध्य छन्। धान रोपाइँको सिजनमा समेत किसानले आवश्यक मल नपाएको गुनासो गरिरहेका छन्।

सहकारी समस्या समाधानमा उदासीन

सहकारी क्षेत्रको अवस्था झन् नाजुक छ। सहकारी ठगीबाट हजारौँ बचतकर्ता पीडित बनेका छन्। तर, सहकारीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिने विषयमा मन्त्रालय प्रभावकारी देखिएको छैन। मन्त्रीकै निर्वाचन क्षेत्र रहेको कैयौं सहकारीहरुबाट जनता पीडित हुँदापनि मन्त्रीले सहकारीहरुलाई संरक्षण गरेको आरोप सार्वजनिक रुपमै उठेका छन् ।

६ महिनामा २ वटा गाडी फेरिए

स्थानीयहरु अर्को गम्भीर प्रश्न उठाउदै मन्त्री बनेको करिब छ महिनाको अवधिमा दुईवटा गाडी फेरिए, तर जनताको अवस्था फेरिएन। जनताले परिवर्तनको लागि मत दिए, तर परिवर्तन मन्त्रीको जीवनशैलीमा मात्रै देखिएको आरोप छ।

सुनसरी खोलाको समस्या समाधानमा प्रदेशको मन्त्री हुँदापनि काम शुन्य 

सुनसरीका विभिन्न खोलाबाट हरेक वर्ष आउने बाढीले किसानको धानबाली बगाउने समस्या पुरानै हो। सुनसरी खोलामा तटबन्ध र बाँध निर्माणको माग वर्षौंदेखि उठ्दै आएको छ। तर, सम्बन्धित मन्त्रालयको नेतृत्वमा रहेर पनि मन्त्री मन्सुरीले यस विषयमा उल्लेखनीय पहल गर्न नसकेको स्थानीयको भनाइ छ।

जनताको पीडा झन् बढ्दै जाँदा एउटा प्रश्न अहिले चोक–चोकमा उठ्न थालेको छ। "कर तिर्ने जनता हिलो सडकमा किन हिँड्ने, अनि त्यही करबाट किनिएको चिल्लो गाडीमा मन्त्री किन मोज गर्ने?"

अहिले जनताको अपेक्षा सरल छ– भाषण होइन, काम चाहिएको छ। हिलोमा पिल्सिएका नागरिकले अब मन्त्रीको गाडी होइन, आफ्नै गाउँको सडक चिल्लो भएको देख्न चाहेका छन्। आखिर, जनता हिलोमा र मन्त्री चिल्लो गाडीमा रहने यो अवस्था कहिलेसम्म?

प्रतिक्रिया

सम्बन्धित समाचार