रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको भने श्रीमान् घाइते भएका छन्।>
मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको स्कारपियो मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ। उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ। >
स्कारपियोका चालक राधाका श्रीमान् ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन्। घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए।>
उनका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो। मन्थली–७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ। रासस>>