युट्युबबाट सिकेर काष्ठकलामा चम्किएका भक्तबहादुरको प्रेरणादायी कथा

Jasus Khabar 3925+ समाचार ( )
२० आषाढ २०८२

शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन्। काष्ठकलाका सामग्री बनाउने कार्य उनले तालिम लिएर सिकेका भने होइनन्। मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धी सामग्री निर्माण गर्ने सीप सिकेका।  

आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उनी संलग्न भए। गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उनले एक-दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिके।  

‘हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो,’ उनले भने, ‘गतिलो कमाइ नहुँदा त्यो कार्य छाड्ने निधो गरें, मोबाइलमा काष्ठकलासम्बन्धी युट्युबमा भिडियो हेर्ने र नयाँ कुरा सिक्ने उत्सुकता थियो, युट्युब हेर्दै काष्ठकलासम्बन्धी कार्य गर्न थालें।’ कमाइ हुने हाउस डेकोरेसनको कार्य छाडेर मोबाइल हेरेर के पो गर्न थाल्यो भनेर घरकाले नै नानाथरि कुरा सुनाउन थाले। बुबाले नै बहुलाउन थालिस् कि क्या हो, बर्बाद हुने भयो भनेको कुरा उनी स्मरण गर्छन्।  

आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरू उनी सिक्न थाले। युट्युबमा काष्ठकलाका कार्य गरेर गतिलो आम्दानी भएको उनी सुन्न र हेर्न्थे, त्यही हेरेर उनले सामग्री निर्माण गर्न सिकेका थिए तर व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने उनसँग थिएन। आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो। व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन। जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं महालक्ष्मी बचत र ऋण सहकारी संस्थाको सम्पर्कमा पुगे। महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पुँजी नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाए।  

‘युट्युब हेरेर बनाएका काठका सामग्री झोलामै बोकेको थिए,’ उनले भने, ‘बनाएका सामग्री सहकारीका पदाधिकारीलाई देखाउँदा सहकारीका पदाधिकारी निकै प्रभावित भए।’ युवा स्वरोजगार कोषको रु दुई लाख ५० हजार पाँच प्रतिशत ब्याज तिर्नेगरी कर्जा उनले प्राप्त गरे। ‘प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउन औजार (आवश्यक टुल) र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरें र बाँकी रकमबाट सामुदायिक वनबाट काठ खरिद गरें, त्यसपछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ,’ उनले भने।  

महराले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन्। खर्च कटाएर महिनामा उनले रु ३० देखि रु ४५ हजारको हाराहारीमा आम्दानी गर्छन्। काष्ठकलाकै कार्यबाट दुईजना दम्पती, दुई छोराछोरी र आमाबुबा गरी छ जनाको परिवारको खर्च चल्दै आएको छ। कर्जा लिएको रकममध्येको रु ६० हजार किस्ताको रकम उनले तिरिसकेका छन्। प्रत्येक महिनाको किस्ता समयमै बुझाउने भएकाले सहकारीको उनप्रति विश्वास रहेको छ। सहकारीमै महराले रु ३० हजार जतिको रकम बचत गरेका छन्। उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री कम्तीमा रु पाँच सय र बढीमा रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन्।  

पहिले उनले उत्पादन गरेका सामग्री काठमाडौं, बुटवल, नेपालगन्जसम्म पुर्याएर बेच्ने गर्थे। व्यापारीहरूले सामान लग्ने तर भुक्तानी समयमा नदिने हुँदा अहिले महेन्द्रनगर, धनगढी, झलारीलगायत बजारमा उनले बेच्दै आएका छन्। ग्राहकका मागअनुसार सामग्री बनाउने भएकाले माग निकै बढी हुँदा काम गर्न भ्याइ-नभ्याइ भएको उनी सुनाउँछन्। एक सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छ भने ७० प्रतिशतसम्म नाफा हुन्छ।  

कार्य सिक्दै गर्दा कुरा सुनाउने उनका घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्छन्। महराकी श्रीमती स्थानीय निजी विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत छन्। विद्यालय समयअघि र पछि उनी पनि काष्ठका सामग्रीमा रङरोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिन्छिन्।  

काष्ठकलाका कामले नै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादित सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उनी सुनाउँछन्। घरमै पुगेर व्यापारीहरूले सामग्रीको माग गर्छन् सोहीअनुसार उनले सामान तयार गरी दिन्छन्। व्यापारीले हाताहाती रकम दिने भएकाले बेच्ने झन्झट छैन। भविष्यमा यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने उनको सोच छ। त्यसका लागि अहिलेदेखि नै रकम बचत गर्न थालेको उनी बताउँछन्। ‘सँगैका साथी युरोप र कोरियातर्फ गए, स्वदेशमा बसेर गतिलो कमाइ नै नहुने भएकाले जानका लागि निकै कर गरेका थिए,’ उनले भने, ‘स्वदेशमै कार्य गरी सफल हुने मनै भित्रदेखिको इच्छा थियो, त्यसलाई पूरा गर्न लागिपरें, गतिलो कमाइ छ, सबैले चिन्छन्, समाजमा बेग्लै पहिचान बनेको छ, विदेशमा गएका साथीहरूले पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदारका रूपमा राख्न कर गर्न थालेका छन्।’  

स्वदेशमा नै लगनशील भएर काम गरे सफलता प्राप्त हुने भएकाले युवाहरूलाई विदेशको मुख ताक्नुभन्दा स्वदेशमै सीप सिकेर व्यवसाय सञ्चालन गर्न उनी सुझाव दिन्छन्। विद्यालय शिक्षामा व्यावसायिक हस्तकलाका सीपमा आधारित कार्यहरूलाई समावेश गरिनुपर्ने उनको भनाइ छ। सहकारीका कार्यकारी प्रमुख गणेशदत्त भट्ट र भक्तबहादुर पौरखी व्यवसायी भएकाले उनको कार्यप्रतिको लगाव देख्दा निकै प्रभावित भएको बताउँछन्। रासस

प्रतिक्रिया