भिजिट भिसा प्रकरण: छानबिनको माग गर्दै रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार

Jasus Khabar 3925+ समाचार ( )
२७ श्रावण २०८२

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति नबनाइएको भन्दै मंगलबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेपछि दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिशिर खनाललाई समय दिएका थिए । ‘हामीले लगातार माग गर्दै आएको भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएन । जबसम्म छानबिनको प्रक्रिया सुरु हुँदैन, तबसम्म हाम्रो विरोध जारी रहनेछ,’ उनले भने ।

खनालले मन्त्रिपरिषद्का केही सदस्यहरूसमेत विभिन्न काण्डमा मुछिएको उल्लेख गर्दै ती प्रकरणमा पनि छानबिन हुनुपर्ने माग गरे । त्यसपछि सभामुख घिमिरेले राप्रपाकी सांसद विना लामालाई बोल्न समय दिएका थिए । ‘हामीले सधैँजसो उठाउँदै आएको माग भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन अझैसम्म पूरा भएको छैन । त्यसैले हामी बैठक बहिष्कार गर्छौं र आजको भत्तासमेत नलिने निर्णय गरेका छौँ,’ उनले भनिन् । 

त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । १३ जेठयता रास्वपा र राप्रपाले लगातार संसद बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया