रविन्द्र कु यादव ,धनकुटा । कोशी प्रदेश सरकारले घोषणा गरेको "कोशी प्रदेश पर्यटन वर्ष २०८२" को भव्य उद्घाटन तथा शुभारम्भ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ र यस सम्बन्धी एक महत्वपूर्ण तयारी तथा सुरक्षा बैठक सम्पन्न भएको छ।>
>
बैठकमा सुरक्षामा कुनै पनि कमजोरी नराख्ने निर्णय गर्दै सबै सरोकारवालाहरूले एकमतले कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा सहभागी अधिकारीहरूले सुरक्षाका हरेक पाटोलाई सूक्ष्म रूपमा विश्लेषण गरी आवश्यक रणनीतिहरू तय गरेको जानकारी दिएका छन्।>
>
बैठकमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारी, वन वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डल, भौतिक पूर्वाधार राज्य मन्त्री भूमि प्रसाद राजवंशी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला प्रशासन प्रमुखहरू, र राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी थिए।>
>
बैठकमा सहभागी सुरक्षाका शीर्ष अधिकारीहरूले सुरक्षा व्यवस्थामा पूर्ण तयारी रहेको बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, तथा स्थानीय प्रशासनबीच आपसी समन्वय सुदृढ बनाइएको छ।>
>
धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले भने, “हामीले सुरक्षा व्यवस्थामा कुनै पनि खुकुलोपन रहने छैन। सबै संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको छ।” यस्तैगरी, प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले भने, “सुरक्षामा हाम्रो पहिलो प्राथमिकता रहेको छ, कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न हुनेछ।”>
>
यो बैठकले प्रदेशवासीमा सकारात्मक सन्देश दिइसकेको छ कि पर्यटन वर्ष २०८२ को सुरुवात भव्य र सुरक्षित रूपमा हुनेछ। यसबाट कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।>>