जसले पार्सलको लोभमा ८५ लाख ठगिँदा पनि विश्वास गरिरहिन्

Jasus Khabar 3959+ समाचार ( )
३१ जेठ २०८२

 रामेछापकी ४४ वर्षीया नमिता राना ‘नाम परिवर्तन’ले काठमाडौंमा स्टेसनरी पसल सञ्चालन गरिरहेकी थिइन्। पसलमा बस्ने, सामाजिक सञ्जाल चलाउने र टिकटकमा लाइभ बस्ने गर्दै उनले दैनिकी काटिरहेकी थिइन्। यसैक्रममा उनलाई एकदिन डा. फ्रांकलिन वेन नामक टिकटक अकाउन्टबाट फलो गरेको नोटिफिकिसेन आयो। विदेशी नाम देख्नासाथ उनले तुरुन्तै फलोब्याक गरिन्। टिकटकमा बनेको साथीले ह्वाट्सएपमा कुराकानी गर्ने भन्दै नम्बर दिए।

टिकटकबाट ह्वाट्सएपमा जोडिएर कुराकानी गर्न थालेकी नमिताले उनै वेनसँग घण्टौं कुरा गर्न थालिन्। वेनले आफू इंगल्यान्डको नागरिक भएको र प्रशस्तै सम्पत्ति भएको हुँदा च्यारिटी गर्न लागेको बताए। वेनसँग पैसा भएको थाहा पाएपछि नमिता पनि लोभिइन्। वेनले आफू सानी छोरीसँग एक्लै बस्दै आएको र श्रीमतीले छाडेर गएको बताएका थिए। यसपछि झन् नमिता र नक्कली वेनको अनलाइन सम्बन्ध अझै नजिकियो। उनीहरूले निकटता बढाए।

यसैक्रममा वेनले नमिताको जन्मदिनका लागि उपहार पठाइदिन्छु भन्दै उनको ठेगाना मागे। उक्त ठेगानामा सुनका गरगहना, आइफोन,डाइमण्डको हार र ५० हजार डलर पठाएको भन्दै फोटो पठाए। वेनले नमितालाई भने, इंगल्यान्डबाट मैले सामान पठाइसके अब नेपालमा तिमीलाई कुरियरको कर्मचारीले फोन गर्छ भन्दै भिडियो पठाएका थिए।

सामान पठाएको एक दिनपछि आफू डेल्टा कुरियरको कर्मचारी रहेको बताई ह्वाट्सएपमा म्यासेज आयो। म्यासेजमा भनिएको थियो, ‘वेनले पठाएको सामान सामान काठमाडौं विमानस्थलमा आइपुगेको छ। कस्टम तिर्नका लागि ५० हजार रुपैयाँ लाग्ने भएकाले ५० हजार पठाउनू।’ नमिताले तुरुन्तै सरिता बस्नेतका नाममा एनएमवी बैंकको खातामा ५० हजार जम्मा गरिन्। उक्त रकम पठाएको भौचर नमिताले ह्वाट्सएपमा पठाइन्। यसलगत्तै अर्को नम्बरको ह्वाट्सएपबाट आफू अख्तियारको कर्मचारी गीता थापा रहेको बताउँदै सुन र हीराका गहना र डलरको सटही चार्ज तिर्न पैसा लाग्ने बताइयो। अख्तियारको कागजात बनाउन, सेक्युरिटी डिपोजिट इन्कम ट्याक्स तिर्न भन्दै श्वेता आचार्यका नाममा नबिल बैंकमा २ लाख ५० हजार, शोभाकुमारी श्रेष्ठका नाममा ५ लाख १० हजारलगायत विभिन्न मितिमा विभिन्न व्यक्तिका नाममा ८५ लाख २० हजार रुपैयाँ जम्मा गरिन्।

सामान विमानस्थलमा अड्केको बताउँदै उनीहरूले विभिन्न नाममा उनलाई प्रलोभन दिने, धम्क्याउने र पहिलाको पैसा फस्छ भनेर डर देखाउने गर्थे। नमिताले कहिले आफन्तसँग ऋण मागेर हुन्छ कि, कहिले सहकारीमा जग्गाधितो राखेर हुन्छ, पैसा जम्मा गरिरहिन्। जब उनलाई आफ्नो खातामा पैसा जम्मा गर्न २० लाख लाग्छ भनियो, उनी संशकित बनिन्। शंका लागेर प्रहरीमा उजुरी दिन गइन्। यो बीचमा पनि उनी डा. फ्रांकलिन वेनसँग कुराकानी गरिरहेकी थिइन्। नमिताले वेनले पठाइदिएको सामान र उपहार खाइदिनका लागि विमानस्थलका कर्मचारीले अनेक जुक्ति निकालेर आफूसँग पैसा मागिरहेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पीडित नमिता राना, हीराको हार र ५० हजार डलर पाउने प्रलोभनमा ८५ लाख बढी रकम बुझाएकी हुन्। पैसा बुझाउँदै गर्दा पनि उनी डा. फ्रांकलिन वेनसँग विश्वासमा कुराकानी गर्दै थिइन्। नेपालका कुरियर र सरकारी कर्मचारीले दुःख दिएको गुनासो गरिरहेकी थिइन्। प्रहरीमा उजुरी परेपछि उनलाई बोलाएर काउन्सिलिङ गर्न थालियो। उनलाई फ्रांकलिन वेन कुनै विदेशी नागरिक नभएको, उपहार पठाएको भन्ने झुट भएको र उनी नेपालमा नै बसेर ठगी गर्ने गिरोहको चंगुलमा परेको भनेर सम्झाएका थिए। नमिताले यो कुरा स्वीकार गर्न मानेकी नै थिइनन्। उनी भन्दै थिइन्, ‘फ्रांकलिन वेनले मलाई ठग्नै सक्दैन। ऊ विदेशी नै हो।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, यो त एक उदाहरण मात्रै हो। प्रहरी कार्यालयमा यस्तै प्रकारका उजुरी दैनिकजसो आउँछन्। आव २०८०÷८१ मा अपराध अनुसन्धान कार्यालयमा मात्रै ४ सय १४ जना व्यक्तिहरू पार्सलको बहानामा ठगिएको उजुरी आएको थियो। जसको बिगो रकम १२ करोड ३१ लाख थियो। यस्तै ठगी यो आव २०८१ ८२ को सुरुवातदेखि वैशाख ३१ सम्म १ सय ६७ वटा पार्सल ठगीका उजुरी परे। जसमा ७ करोड ४७ लाख बढी ठगी भएको उजुरी आएको थियो।

प्रतिक्रिया